रामपुर, २५ पुस : प्रायः मेला महोत्सवमा मात्र देख्न पाइने गाउँ समाजबाट हराउँदै गएको कुडुले घर पाल्पामा देख्न पाइन्छ । जिल्लाका पूर्वखोला र रम्भा गाउँपालिका, माथागढी, रैनादेवी, छहरालगायतमा साना र एउटा दुई घर देखिए पनि निस्दी गाउँपालिकामा केही बढी छन् । निस्दी – ४ मित्यालको खाँदरमा केही कुँडुले घर रहेकाले बस्ती नै सुन्दर देखिन्छ ।
निस्दी –४ कै रुप्सेभञ्ज्याङमा रहेको हावाबाट बिजुली तथा निस्दीकै अम्रिसो बगान काउलेडाँडा हेर्न पुगेका पर्यटक घुमाउने घर अर्थात् कुँडुले घर हेर्न खाँदरसमेत पुग्ने गरेको स्थानीयवासी सन्तवीर सुनारीले बताए ।
बाक्लो मगर बस्ती रहेको त्यस क्षेत्रमा मगरहरुको संस्कृतिसँग जोडिने कुँडुले घर धेरै जनाको परिवारलाई बस्न समस्या भए पनि हावा, पानी तथा चर्को घामबाट जोगिन सहज हुने सुनारीको भनाइ छ । पछिल्लो समय बनेका सिमेन्ट र जस्ताका घरभन्दा कुँडुले घर गर्मीमा चिसो र जाडोमा तातो तथा न्यानो हुने हुँदा साह्रै आनन्द हुने सुनारीले बताए ।
प्रायः लेकभेगमा रहेका कुँडुले घर पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेकाले यसको संरक्षण गर्नुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् । आवश्यकतानुसार कोठा कम भएकाले बसाइमा समस्या भए पनि चिसो तथा गर्मीमा भने कुँडुले घर सुरक्षित मानिन्छ । घुमाउरो तरिकाबाट निर्माण, एउटा ढोका, खरको छानो र झ्यालका नाममा एउटा प्वाल मात्रै हुने घर हेर्दा आकर्षक देखिन्छन् । पछिल्लो समय धेरैले सुविधासम्पन्न ढलान गरिएका तथा जस्तापाताले छाएका र टायल लगाएका घर निर्माण गर्दा यस्ता घर लोपोन्मुख अवस्थामा छन् ।
कोठा धेरै नहुने र सुत्न तथा पाहुना राख्न केही समस्या भएका कारण लेकभेगमै बसोबास गर्ने नागरिकहरुले सुविधासम्पन्न हुने अन्य खालका घर निर्माण गर्ने गरेका छन् ।
डाँडाको टाकुरामा कुँडुले घरबाट दक्षिण तराईका फाँट तथा उत्तरमा सुन्दर हिमशृङ्खला लोभलाग्दो देखिन्छ । सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्वी पहाडी क्षेत्र बाक्लो मगर बस्ती रहेको खाँदरमा रहेका कुँडुले घरको संरक्षणमा अब आफू लाग्ने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । पुस मसान्तभित्र गाउँपालिकाभरि रहेका कुँडुले घरको तथ्याङ्क सङ्कलन गर्ने, कुँडुले घर मात्र भएका यस क्षेत्रका नागरिकलाई जग्गाको विकल्प दिने र विशेष खालको योजना बनाएर कुँडुले घर संरक्षण अभियान ल्याइने अध्यक्ष सारुको भनाइ छ ।
मित्यालसँगै निस्दी गाउँपालिकाका डाँडाभेगबाट तराई तथा नेपाल भारत सीमाक्षेत्रसम्म देखिन्छ । यहाँका वनमारा फाँडेर लगाइएका केराखेती, सूर्यमुखी फूलखेती, अम्रिसोलगायत स्थानीय उत्पादन बोडी, सिमी र अदुवाको प्रवद्र्धनका लागि पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउनु आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष सारुको जोड छ ।
गर्मीको समय शीतलताका लागि समेत पुग्न सकिने सुन्दर निस्दीमा हावाबाट बिजुली तथा सौर्यप्रणाली पनि छ । यहाँको काउले वन हेर्नका लागि आउने पर्यटकलाई केही दिनसम्म यस क्षेत्रमा टिकाइराख्न स्थानीय खानपान, रहनसहनको पहिचान दिँदै कुँडुलेघरको संरक्षण अत्यावश्यक रहेको उनले बताए । कुँडुलेघरको संरक्षण गर्न सके बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने स्थानीय नागरिकको भनाइ छ ।