Logo

हेटौंडा राजधानीमा कुनै परिवर्तन हुँदैन- प्रदेश सांसद रामकुमार अधिकारी



काठमाडौं, २५ पौष । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद रामकुमार अधिकारीले प्रदेशको नाम र राजधानीबारे भइरहेको विवादबारे महत्वपूर्ण खुलासा गरेका छन् । उनीले अहिलेसम्म राजधानी हेटौंडा र नाम बागमती नै हुने जिकिर गरेका छन् । अधिकारीसँग ऋषि धमलाले गरेको कुराकानीः
प्रदेश नं. ३ को राजधानी हेटौंडा नै सहमति भएको हो ?
प्रदेश नं. ३ को राजधानी र नामको बारे संसद्मा छलफल भइरहेको छ ।
छलफल पहिलादेखि नै भएको हो, तर सहमति त भएको छैन नि ?
सहमति त अहिलेको अवस्थामा संसद् नै सार्वभौम हो । प्रदेशको नामकरण गर्ने अधिकार प्रदेश सांसदलाई नै दिइएको छ । त्यसैले पनि अहिलेसम्म नटुंगिएर छलफल भइरहेको हो ।
नेकपाकै धेरै नेताहरुले विरोध गर्नुभएको अनि कसरी सहमति हुन्छ त ?
लोकतन्त्रमा कुनै विषयमा छलफल, संवाद, फरकमत भइहाल्छ नि । त्यसबाट विभिन्न नेताहरुको धारणा आउँछ, त्यो स्वाभाविक कुरा हो । यिनै विषयबाट निष्कर्ष आउने हो ।
यो विषयमा नेकपाको सचिवालय निर्णय मान्ने कि, प्रदेशसभाको ?
नेकपाको सचिवालयले आफ्नो मत जाहेर गर्न सक्छ । त्यसपछि प्रदेश सांसद्हरुबीच छलफल बहसपछि निर्णय हुन्छ ।
यसले नेकपाभित्रै पनि अन्तरकलह त बाहिर आयो नि ?
यसलाई अन्तरकलह भनिँदैन । लोकतन्त्रमा कुनै पनि विषयमा आफ्ना विचारहरु राख्न पाइन्छ । आपूmलाई लागेका तर्कविकर्तहरु राख्ने वित्तिकै अन्तरकलह भन्न मिल्दैन । पार्टीको सर्वोच्च निकाय केन्द्रीय सचिवालयले यसो गर्दा राम्रो हुन्छ, भनेर आफ्नो सुझाव सल्लाह दिन सक्छ ।
सुझाव सल्लाह त दिन सक्ला, लाद्न त सक्दैन नि ?
कहाँ लादेको छ, छैन नि ।
किन लादेको छैन, तपाईंहरुको पार्टीको बहस त्यही विषयमा कन्द्रित छ नि ?
लादेको भन्नाले पार्टीले अहिलेसम्म अनिवार्य यही हुनुपर्छ भनेर ठोकुवा गरेको छैन ।
पार्टीले तलमाथि हुँदैन, हेटौंडा राजधानी र बागमती नाम हो भनिसकेको छ नि ?
पार्टीले भन्नेवित्तिकै सय प्रतिशत यही हो भन्ने भए संसद्मा छलफल, चर्चापरिचर्चा हुने थिएन । त्यसैले त्यही सत्य हो भन्ने होइन । पार्टीको सर्वोच्च निकाय सल्लाहमा यहाँ निर्णय हुन्छ ।
ठ्याक्कै भन्नुस्, कहिले निर्णय हुन्छ ?
अब दुई दिन जतिमा लगभग निर्णय भइसक्ला ।
सहमति हुन सकेको छैन हो ?
यसमा सहमति नहुने कुरै आउँदैन । विचार समूहहरुमा विचार, छलफल, बहसहरु आदानप्रदान भइरहन्छ । तर, एकदमै झगडा भयो, विवाद भयो त्यस्तो हुँदैन ।
कतिपय सांसद्ले माननीय पद पनि त्याग्न सकिन्छ, तर अडान छोडिँदैन भन्नुभएको छ नि ?
कसै–कसैले भन्नुभयो होला, त्यस्तो हुँदैन । लोकतन्त्रमा दलको निर्णय सर्वसम्मत हुन्छ । त्यसो हुँदैन भनेर विचार राख्न पाइन्छ ।
तपाईं पनि धादिङबाट जित्नुभएको हो, राजेन्द्र पाण्डेले त पद त्याग्न तयार छु भन्नुभएको छ नि ?
त्यो उहाँले कुन प्रसंगमा कुन उद्देश्यले भन्नुभयो, त्यो उहाँलाई नै सोध्नुपर्छ । पार्टीको निर्णय सधैं गरौं भन्नेभन्दा पनि कुनै निश्चित अवधिको लागि यसो गरौं भन्ने पनि हुनसक्छ । एक पटक भएपछि त्यहँँबाट चल्नै सकिँदैन भन्ने कुरा पनि आउँदैन । विदेशको इतिहास हेर्दा पनि राजधानीहरु समय, परिस्थिति अनुसार बदलिएका छन् । त्यसैले ठूलो विषय बनाएर बहस गर्नु जरुरी छैन ।
त्यसो भए केन्द्रले भनेकै अनुसार राजधानी हेटौंडा नै हुन्छ ?
अहिलेसम्मको स्थितिलाई हेर्दा संभावना त्यहीं छ ।
अनि प्रदेशको नाम परिवर्तन हुँदैन ?
नाम पनि परिवर्तन हुँदैन । बागमती बाहेक अर्को हुने सम्भावना छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot