Logo

सभामुखमा सुवास नेम्वाङलाई अस्वीकार गरेको होइन- हरिबोल गजुरेल



काठमाडौं, २६ पौष । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेल अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । नेकपाभित्र सभामुख चयनको विवाद चुलिंदै जाँदा उनले सहमति बन्ने बताएका छन् । यसै विषयमा गजुरेलसँग ऋषि धमलाले गरेको कुराकानीः
नेकपाभित्र सभामुख चयन प्रक्रियामा किन विवाद ?
एकथरिलाई एकढंगले अगाडि बढ्न मन लाग्छ, अर्को थरिलाई अर्को ढंगले अगाडि बढ्न मन लाग्छ । यसरी विवाद, बहस, छलफल हुनु नराम्रो कुरा होइन ।
तपाईंहरुमा त विवाद, बसह भयो तर संसद् त अनिर्णयको बन्दी भयो नि ?
यो बहस र छलफलले सही निष्कर्ष र निर्णय गर्छ कि गर्दैन त्यो ठूलो कुरा हो । विषयमा विवाद, बहस हुनु भनेको त राम्रो कुरा हो नि ।
भोलि सही निष्कर्षमा निस्कनेमा तपाईंलाई विश्वास छ ?
जुनखालका जटिलहरु थिए, त्यसमा एकता प्रक्रिया अगाडि बढेको छ । त्यसैले निष्कर्ष निस्कन्छ ।
उपसभामुखले हिजो प्रधानमन्त्री र प्रचण्डलाई भेट्नुभयो तर राजनीतिमा त आएन ?
सहमति भएको पहिल्यै टुंगिइसक्थ्यो । त्यही हुन नसक्दा बहस, छलफल भइरहेका छन् । सहमति भएपछि सबै मिल्छ ।
अब कति दिन लाग्छ त ?
नेपालको नियम बुझ्नुभएकै छ नि मैले भन्नै पर्दैन ।
तपाईंको पार्टीको कुरा त तपाईंंले बढी बुझ्नुभएको छ नि ?
एकले अर्कालाई थकाउने, गलाउने र आपूm माथि पर्ने हिसाबले सोच्दा यो समस्या देखिएको हो । सही के गर्दा हुन्छ भन्ने पाटोबाट निष्कर्ष निकाल्नुपर्ने हो ।
प्रधानमन्त्रीको लागि सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा हुनुहुन्छ, प्रचण्ड हुँदैन भन्नेमा हुनुहुन्छ अब के हुन्छ ?
यसलाई बनाउँदा राम्रो हुन्छ भन्ने एउटा प्रकृति भयो । फेरि नयाँ नयाँ प्रकृतिबाट निर्णय गर्दा राम्रो हुन्छ कि भन्ने अर्को कुरा आयो । यसमा मनोविज्ञानका कुरा आए । हिजोका इतिहासका विरासतले पनि हामीलाई पछ्याइराखेका हुन्छन् । पार्टीभित्र गुटहरु छन् भन्ने सबैले स्वीकारेको छ । तिनीहरु आफ्नो शक्ति सञ्जालसँग विभिन्न ढंगले हामी हुन खोज्छन् । अहिलेसम्म के गर्दा राम्रो हुन्छ भन्ने भन्दा पनि आफ्नो गुटलाई कसरी बलियो बनाउने भन्ने भावना ढिलाइ भइराखेको हो । अहिलेसम्म हाम्रो सस्या भनेको ‘राम्रोभन्दा हाम्रो’ च्याप्न थालेपछि उपयुक्त मान्छे सम्बन्धित ठाउँमा पुग्न नसक्नु हो । आफ्नो गुटमा लाग्यो भने ऊ राम्रो भयो, लागेन भने भएन । हरेक पार्टीको समस्या यही त हो नि ।
यत्रो परिवर्तन आयो, अहिले तपाईंहरु आफ्नो गुट बलियो बनाउन खोज्दा संसद् नै अवरुद्ध भएको छ नि ?
यसमा सरकारले केही गरेन भन्ने होइन । जनताले चाहे र खोजेजस्तो भएन होला त्यो आफ्नो ठाउँमा छ । यो विषयमा पनि छिटो गरिदिएको भए संसद्ले छिट्टै निकास पाउँथ्यो । जति ढिला गर्यो त्यति देश र जनतालाई घाटा हुन्छ । यो कुरामा नेतृत्व गम्भीर हुनुपर्छ ।
अहिले त तपाईंहरु जे चाह्यो त्यो काम गर्न सक्नुहुन्थ्यो नि ?
बहुमत मात्रै सबै कुरा होइन । अहिले विकास निर्माणको प्रक्रियामा छौं । त्यसमा शेरबहादुरजीले बहुमतको नाममा एकपक्षलाई मात्रै बैठकमा बोलाएको जस्तो स्थितिमा हामी छैनौं । देश र जताको पक्षमा हुने गम्भीर विषयमा अल्पमत बहुमत भन्ने हुँदैन । हाम्रो पार्टी दुई अध्यक्ष हुनुहुन्छ उहाँहरुले निर्णय नगरी केही हुँदैन । अहिलेको अवस्थामा बहुमत अल्पमत भन्दा पनि सहमति हुन्छ । त्यसैको आधारमा अगाडि बढिन्छ ।
तपाईंहरुलाई यो बहुमत अवसर होइन, अनि किन खिचातानी गर्नुहुन्छ ?
अब सर त हो नि । तर, सोचेजस्तो नेपालको राजनीतिमा हुँदैन । यहाँ त धेरै कम्प्लेस छ नि । हामीले बहुमत भएपछि सबै कुरा सरर भइहाल्छ भन्ने होइन । २०४८ सालमा काँग्रेसको बहुमत थियो नि । २०५ मा काँग्रेस एक्लैले ११४ सिट जितेको थियो, त्यो पनि प्रत्यक्षमा । त्यस्तो बहुमतको सरकार हुँदाहुँदै मध्यावधी निर्वाचनमा जानुपर्यो । यो कल्चर त नेपालको राजनीतिमा पहिलादेखि गाँजिएको छ नि ।
त्यो कल्चरबाट त तपार्इंहरु अगाडि जानुपर्ने नि ?
नयाँ संविधान बनिसकेपछि नयाँ तरिकाले जानुपर्ने त हो । तर, हाम्रो राजनीति पार्टीहरुले पुराना विरासतबाट माथि उठेर नयाँ संस्कारको विकास गर्न सकेका छैनन् । राजनीति पार्टीबाट नयाँ संस्कार खोजेका छन्, जनताले । हामी त्यो दिशा जानै चाहँदैनौं, अहिलेको समस्या नै त्यही हो । यसले गर्दा जनतामा असन्तुष्टि चुलिँदै गएको छ ।
स्थानीयदेखि केन्द्रसम्म भ्रष्टाचार मौलाएको छ, तपाईंहरु मौन हुनुहुन्छ नि ?
भ्रष्टाचार त हिजो पनि तह र विभिन्न निकायमा थियो । आज पनि छ र भोलि पनि यो प्रक्रिया रहन्छ । तर त्यसलाई निर्मुल पार्ने मुख्य सुत्र के भन्नेतिर अहिले पनि खोजि भएको छैन । हामीले छलफलमा प्रवेश गराएका छौं । त्यसलाई निर्मूल पार्न सरकारले नीतिगत रुपमै सुधार गर्नुपर्छ । यसैगरी, पार्टीभित्र गुटबन्दी चलिरहँदासम्म भ्रष्टाचार रोकिँदैन । पार्टीमा गुट बन्दी भएपछि त्यसलाई चलाउन पैसा चाहिन्छ, त्यो त भ्रष्टाचारीबाटै कमिसनको रुपमा लिने हो । अर्को शिक्षा र स्वास्थ्य यति महंगो भएपछि त्यसलाई चलाउन आफ्नो आय आम्दानीले पुग्दैन त्यो परिपूर्तिका लागि पनि कर्मचारी र राजनीतिज्ञले भ्रष्टाचारै गर्ने भयो । यसलाई भ्रष्टाचार मुक्त गर्ने भनेर भाषण गरेर मात्रै हुँदैन, नीतिगतै सुधार हुनु जरुरी छ ।
नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिएको कुरामा स्थगित गर्न सर्वोच्चले आदेश गर्यो नि ?
यो लगायत धेरै विषय उठेको छन् । यसमा हाम्रो पार्टीभित्र पनि गम्भीर रुपले छलफल भएको छ । प्रक्रियागत त्रुटीहरु भएका छन् भने सच्याउनुपर्छ । जनताले के कुरा उठाएको छन् त्यसलाई ध्यान दिनुपर्छ । मिडियाको पछि लागेर मात्रै पनि हुँदैन । भूकम्प प्रधानिकरणमा सुशील ज्ञवाली ल्याउँदा कम्युनिस्टले अक्षम मान्छे ल्यायो भनेर आयो अहिले उहाँले राम्रो काम गर्नुभएको छ । त्यसैले मिडियाले राम्रो काम गर्नेलाई नराम्रो र नराम्रो काम गर्नेेलाई राम्रो बनाइदिन्छन् ।
त्यसैभएर तपाईंहरुले मिडियालाई अंकुश लगाउन थाल्नुभएको हो, विधेयकमार्पmत् ?
मिडिया पनि कसैको चाहनाबाट चल्नुभएन । पछिल्लो समय नेपालमा मिडियाको क्षत्रमा राम्रो विकास भएको छ । राम्रा पत्रकारहरुको टिम तयार भएको छ । त्योसँगै फेरि विसंगति र विकृति पनि बढिरहेको छ ।
मिडिया उद्योग अगाडि बढ्यो भनेर कमजोर बनाउन लाग्नुभएको हो ?
केही विषय नल्याएसम्म सही कुराको निर्णय नै हुँदैन । त्यसैले एउटा विषय ल्याएपछि त्यसमा छलफल हुन्छ अनि सही ठाउँमा आउँछ । त्यो विधेयक पनि छलफलकै प्रक्रियामा त छ नि पारित भएको छैन ।
१५ लाखसम्म जरिवाना र ५ वर्षसम्म जेल सजायको कुरा आएको नि त्यो सही हो ?

त्यो अहिले अगाडि आएको छ । त्यसको बारेमा बहस छलफल हुन्छ, अनि सही के हो त्यसमा निर्णय हुन्छ । मिडियाको भूमिकालाई संकुचित गर्नु पनि हुँदैन र त्यसलाई छाडा पनि छोड्नुहुँदैन ।
तपाईंहरुले गरेको भ्रष्टाचार र अनियमिततालाई खोल्न थाल्यो भने डर हुन्छ हो ?
मिडियाले गलत चिजलाई सही र सही चिजलाई गलत बनाउने काम गरेको छ, तयो हुनुभएन । त्यसले एउटा पत्रकारलाई अकास पु¥याउने अर्कोलार्इृ पत्ताल पुर्याउने पनि भएको छ, त्यसको सिकार तपाईंहरु पनि हुनुहुन्छ ।
हरेक परिवर्तनमा मिडियाको महत्वपूर्ण भूमिका रह्यो तर तपाईंहरुले यसलाई किन कमजोर बनाउन लाग्नुभयो ?
मिडियाहरुले पनि पढ्नै नसकिने, हेर्नै नसिकिने चिजहरु पस्किने गरेको छन् नि । यो खुल्ला परिवेशको फाइदा पनि हो । तर यसलाई एउटा सिस्टम त ल्याउनुपर्यो । राजनीतिक पार्टीहरुलाई पनि एउटा सिस्टममा ल्याउनुपर्यो । सरकार, कर्मचारी, अधिकारकर्मी, सञ्चारकर्मी सबै सिस्टममा चाल्नुप¥यो । यो विधेयक पनि संसद्मा प्रवेश गर्ला के गर्दा सहिजो हुन्छ त्यसरी जान्छ । अहिले युगमा मिडियालाई कमजोर जाने कुराले फाइदा गर्दैन । मिडियाले सबैले गलत गरेका छन् भन्ने पनि होइन, सजग पनि गराएको छ । तर, कतिपय अवान्छित गतिविधिका लागि मिडियालाई नियन्त्रण गर्नुपर्छ ।
सरकार भ्रष्टाचारी नजिक छ, त्यसको उजागर गर्न लागेकाले मिडियासँग डरायो भन्ने आरोप छ नि ?
भ्रष्टाचारका कुरा लेखेकै कारणले मिडिया विधेयक आउन लागेको होइन । हरेक राम्रो गर्न खोज्दा सँगै नराम्रा कुरा आउँछन् । जस्तो निमको पात हरेक चिजमा फाइदाजनक छ, तर खाँदा उल्टि हुन्छ ।
अहिलेको सूचना प्रविधि विधेयक आएपछि कसैलाई सडकमा जिस्यायो भने पनि त्यो लेख्दा पत्रकार जेल जानुपर्ने अवस्था आयो हो ?
त्यसमा निर्णय भइसकेको छैन । के उपयुृक्त हुन्छ त्यसको बारेमा छलफल भइरहेको छ ।
सरकारले पत्रकारलाई त्रसित पार्न खोज्यो भनेर त नेकपाकै नेताले भनेका छन् नि ?
सरकारले यस्ता विधेयक, कानुन ल्याउँदा पार्टीमा पनि छलफल गरेर ल्याउनुपर्ने हो । सरकारमा बस्नेहरुले विधेयक, कानुन ल्याउँछन् । हामीलाई पछि आएर थाहा हुन्छ । कुनै पनि कुृरा राम्रो भएर मात्रै हुँदैनन् । त्यसलाई लागु गर्न त्यो समय र परिस्थिति उपयुृक्त छ कि छैन । त्यसले पनि अप्ठ्यारो परिस्थिति उपन्न हुन्छ । कहिलेकाही राम्रो चिजले पनि ब्याक फायर हुन्छ । पार्टीमा छलफल नगरिकन ल्याउँदा पार्टीकै कतिपय साथीहरुबाट फरक धारणाहरु आउँछन् ।
सभामुखका लागि सुवासचन्द्र नेम्वाङको नाममा सहमति हुँदैन ?
बहस छलफल भइरहेको विषयमा यसलाई र उसलाई भन्नै मिल्दैन । आफ्नै पार्टीका स्थायी कमिटीका नेताको विषयमा कसरी हुन्न भन्नु । छलफल हुनेबित्तिकै एकले अर्कोलाई अस्वीकार गरेको होइन नि ।
तपाईंको सुझाव के त ?
हामी एकताकै प्रक्रियामा छौं । त्यसैले ठूलो पंक्तिलाई निरासा बनाउनुहुँदैन भन्नेमा छु ।



प्रतिक्रिया दिनुहोस्