Logo

सभामुख पूर्व माओवादीकै पोल्टामा, अग्नि सापकोटाको नाम सारिदै



काठमाडौं, २६ पौष । लामो समययता परेको सभामुख चयनको गाँठो फुकेको छ । नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक बसेर उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेपछि गाँठो फुकेको हो ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने अडानबाट पछि हटेपछि गाँठो फुकेको हो । ओलीले शिवमायाको विकल्पमा जान सकिनेबारे समेत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । त्यसमा समेत प्रचण्ड राजी भएनन् । उनले ओलीलाई प्रधानमन्त्री या सभामुख एक रोज्न भनेका थिए । विश्वस्त स्रोतका अनुसार एकता प्रक्रियामै रहेकाले आफू पक्षधरले नै सभामुख पाउनुपर्ने अडानबाट प्रचण्ड टसमस भएनन् । यसले ठूलो संकेत आउने देखेपछि नेकपाभित्र ओलीमाथि दबाब बढ्यो । जसका कारण उनी लचिलो भए ।

सभामुख कसलाई बनाउने भन्नेबारे प्रचण्डकै हातमा निर्णयाधिकार पुगेको छ । नेकपाका एक वरिष्ठ नेताले रिपोर्टर्स नेपालसँग भने, ‘अब अध्यक्ष प्रचण्डले जसको नाम दिनुहुन्छ उहाँ नै सभामुख बन्नुहुनेछ ।’ प्रचण्डले सभामुखमा अग्नि सापकोटाको नाम प्राथमिकतामा राखेका छन् । अब उनको नाम ओलीसमक्ष राखेर निर्णयमा पुग्ने बुझिएको छ ।

पूर्व माओवादीभित्रबाट देव गुरुङ र पम्फा भुषाल पनि दाबेदार छन् । तर, प्रचण्ड सापकोटाको पक्षमा उभिएका छन् । यसकारण अबको सभामुख सापकोटा बन्ने सम्भावना बलियो भएको छ ।

सभामुखको टुंगो लाग्ने भएपछि संसद पनि सुचारु हुने भएको छ । अबको बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन् । लगत्तै सभामुख र उपसभामुखको निर्वाचन हुनेछ -File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot