काठमाडौँ, २७ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीना गराउने निर्णय भएको पार्टीका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।” प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । उनले भने, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”
नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । सभामुख कसलाई बनाउन खोज्नु भएको हो भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जानकारी दिएन । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।
गोरखापत्र दैनिकबाट