काठमाडौँ, २७ पुस । छ महिना अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो । गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएपछि उनी वरिष्ठताका नाताले समेत मुख्यसचिव हुने बाटो खुलेको मानिएको थियो ।
मुख्यसचिव निजामती प्रशासनका ७१ जना विशिष्ट श्रेणी सचिवलाई संयोजन गर्ने, सरकारका तर्फबाट निर्देशन दिने तथा मन्त्रिपरिषद् बैठकमा कुन एजेन्डा पेस गर्ने र कुन नगर्ने भनेर निर्णय गर्ने आकर्षक पद हो । मन्त्रिपरिषद्मा सरकार प्रमुखको निकट भएर काम गर्नुपर्ने भएकाले मुख्यसचिव प्रधानमन्त्रीको विश्वासपात्र व्यक्ति नै हुनुपर्ने भएकाले स्वाभाविक रूपमा ओलीको प्रमुख रोजाइमा राई थिए । सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्त गरी पद खाली गराएर राईलाई बढुवा गरी निजामती प्रशासनको नेतृत्व सुम्पने तयारीसमेत सुरु गरेको थियो । प्रधानमन्त्री ओलीले रेग्मीलाई राजदूत हुने मुलुक रोज्नसमेत आग्रह गरिसकेका थिए । ‘राईको उमेरका कारण पूरै तीन वर्ष मुख्यसचिव नहुने भएपछि प्रधानमन्त्री ओली राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका हुन्,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । ५८ वर्षे उमेर हदका कारण राई एक वर्षभन्दा कम समय मात्र मुख्यसचिव हुन्थे । राईले सचिवको ५ वर्षे पदावधि पूरा गरी आगामी माघ २१ मा अनिवार्य अवकाश पाउँदै छन् ।
उनीसँगै एकै दिन बढुवा भएका सचिवत्रय गजेन्द्रकुमार ठाकुर, रामकुमार आचार्य, राजन खनालले समेत सोही दिन अवकाश पाउने छन् । राईसँगै १७ जना सचिवमा बढुवा भएका थिए । अरूले ५८ वर्षे उमेर अवधि पुगी यसअघि नै अनिवार्य अवकाश पाइसकेका छन् । मुख्यसचिव हुने चर्चा सेलाए पनि राईलाई प्रधानमन्त्री ओलीले अर्को आकर्षक पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने तयारी गरिरहेको जानकारी स्रोतले दिएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले ६५ वर्ष उमेर पूरा गरी आगामी असोज २८ मा अवकाश पाउँदै छन् । राईलाई सचिवबाट अवकाश हुनासाथ सुरुमा अख्तियारको आयुक्तमा नियुक्त गर्ने र घिमिरेले अवकाश पाएपछि प्रमुख आयुक्त बनाउने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले उल्लेख गरेको छ । अख्तियारमा हाल दुई आयुक्त पद रिक्त छन् । राई मुख्यसचिव बन्ने सम्भावना लगभग सकिएपछि रेग्मीपछि निजामती प्रशासनको नेतृत्वमा को पुग्ला भन्ने चासो उठ्न थालेको छ ।
कान्तिपुर दैनिकबाट