काठमाडौं, २७ पुस । विवाह एउटा बन्धन हो, सृष्टि हो। परापूर्वकालदेखि चलिआएको सामाजिक परम्परा हो। समाजिक नियम पनि हो, जुन बन्धन र नियममा बाँधिएर मानिसको जीवन चलेको हुन्छ। विवाह प्रस्ताव लिएर नटालियाको घरमा पुगेको इभान् भ्यासिलियिच् लोमोभ सामाजिक नीतिअनुसार आफू पनि विवाहको बन्धनमा बाँधिएर जीवन चलाउने विषयमा एक्लै यस्तै तर्क गर्छ। विवाहको नाममा स्वार्थ उठाउन खोजिरहेको उसले नटालियासँग विवाह गरेर सम्पत्ति हड्प्ने सपना देख्छ र बारम्बार भनिरहन्छ, ‘ती चौरहरू हाम्रा हुन्, ती जमिन पनि हाम्रै हुन्।’
रातोपुलस्थित शैली थिएटरमा पुस १८ देखि मञ्चनरत ‘विवाहको प्रस्ताव’ ९द म्यारिज प्रपोजल० नाटकमा विभिन्न पात्रमार्फत मानिसको बहुरुपीपनलाई देखाइएको छ। रुसी साहित्यकार आन्तोन चेखोभले लेखेको द म्यारिज प्रपोजल नाटकलाई सबिन न्यौपानेले नेपालीमा अनुवाद गरी मञ्चन गरिएको हो। नवराज बुढाथोकीको निर्देशनमा तयार उक्त नाटकमा विवाहका नाममा छिमेकीमा हुने जग्गा जमिनको लफडालाई प्रस्तुत गरिएको छ। दुई छिमेकीबीच जग्गाको विषयमा हुने मनमुटाव र सम्बन्धलाई पात्र इभानले विवाहमा परिणत गरी छिमेकीको जग्गा आफ्नो बनाउन खोजिरहेको छ। भित्र एउटा तर बाहिर अर्कै हुने मानिसको दुई रूपलाई देखाउँदै नाटकमा कहिले जग्गा त कहिले कुकुरको विषयमा विवाद उत्पन्न भइरहेको छ।
राजनीतिक परिवेशलाई पनि समेटिएको उक्त नाटकमा जसरी राजनीतिक दलहरू आफ्नो कुरालाई राम्रो बनाउन र माथि पार्न चर्काचर्की गर्छन्, त्यसरी नै विवाहको बन्धनमा बाँधिने भनेका इभान् र नटालिया आफ्नो कुकुर राम्रो भन्दै विवाद गर्छन्,चर्को आवाज गर्छन्, आफ्नो कुरालाई माथि पार्न तर्क, कुतर्क गरिरहन्छन्। उनीहरू जग्गाको विषयमा चर्को विवाद गर्छन्। बीचबीचमा विवाहको विषयलाई लिएर मायाको नाटक गर्ने उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न विभिन्न रचनात्मक खेल रचिरहन्छन्। विवादै विवादमा बनेको प्रस्तुत नाटकमा नटालियाको बुबा स्टिपना स्टेपानोभिच् चुबुकोभको पनि इभान्सँग पुख्र्यौली सम्पत्तिको नाममा विवाद परिरहन्छ। ७० वर्षीय स्टिपना किसान भने पनि लामो समयदेखि चुनाव लड्दै आएका छन्। जितभन्दा हार धेरै पाएका उनी चुनाव जित्ने झिनो आशामा पटकपटक चुनावमा उठ्छन्, तर सफल हँुदैनन्। बाबुको राजनीतिक अवस्थाका कारण छोरी नटालियालाई माग्न कोही आउँदैनन्। सोही समयमा स्वार्थ बोकेर विवाहको प्रस्ताव राख्न पुगेको ३५ वर्षीय इभान्लाई स्टिपनाले मन पराउँदैनन्, तर उसको जग्गा आफ्नो नाममा बनाउने स्वार्थले नटालिया भने विवाहको प्रस्ताव स्वीकार गर्छे। नटालियालाई पढेलेखेकी र हेर्दा पनि राम्री भन्दै विवादै विवादमा पनि इभान्ले माया गर्न र विवाह गर्न चाहेको बताउँछ। नाटककमा प्रस्तुत तीन जना मुख्य पात्रका छुट्टाछुट्टै स्वार्थ लुकेको हुन्छ र त्यहीअनुसार नाटक अघि बढेको छ।
नागरिक दैनिकबाट