काठमाडौँ, २८ पुस । दिलीप महतोको हत्या आरोपमा पक्राउ गरिएका चार जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ । धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा स्थानीय २४ वर्षीय महतोको गत शुक्रबार बिहान हत्या भएको थियो ।
हत्या आरोपमा पक्राउ पर्नेमा क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादव छन् । हत्याका मुख्य योजनाकार भनिएका विपिन महतोको औरही खोलामा चुरियामाई बालुवा प्रशोधन छ । उद्योग सञ्चालनका लागि मिथिला नगरपालिका–५ का वडाध्यक्ष श्यामबाबु यादवले २०७५ कात्तिक १४ मा स्थलगत मुचुल्काका आधारमा अनुमति दिन घरेलु तथा साना उद्योग कार्यालय धनुषालाई सिफारिस गरेको पाइएको छ ।
वडाध्यक्ष यादव उत्खनन रोक्ने क्रममा ज्यान गुमाएका दिलीप महतोका साथी हुन् । शुक्रबार बिहान खोलामा उत्खनन भइरहेको पहिलो खबर दिलीपले यादवलाई नै गरेका थिए । टिपरले किचेर दिलीपको हत्या भएपछि वडाध्यक्ष यादव नै खोलामा पहिला पुगेका थिए । उत्खनन रोक्न खोलामा जान दिलीपले वडाध्यक्ष यादवलाई शुक्रबार बिहान चोकमा भेट्न बोलाएका थिए । तर, घर अगाडि बेवारिसे मोटरसाइकल रहेको फोन आएपछि यादव घर फर्किए, दिलीप खोलातिर लागेका थिए । ‘खोलामा पुगेपछि दिलीपले यादवलाई फेरि फोन गरेको रहेछ,’ इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले भने, ‘तर, उनी पुग्नुअघि नै दिलीपको हत्या भइसकेको थियो ।’ घटनामा वडाध्यक्षको भूमिका शंकास्पद नदेखिएको उनले बताए ।
कान्तिपुर दैनिकबाट