काठमाडौं, २८ पुस । सरकारी तथा निजी अस्पतालले रगतको मनोमानी रकम असुल्दै आएका छन् । सरकारले रगतबापतको मूल्य नतोक्दा अस्पतालको मनोमानी बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मातहत रक्त सञ्चार सेवाका लागि अनुमति पाएका अस्पतालले बिरामीबाट मनलाग्दी रकम असुलेका हुन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक युनिट रगतको १ हजार २ सय रुपैयाँ लिएको कागजात राजधानी दैनिकले फेला पारेको छ । यस्तै, ललितपुरस्थित बीएन्डबी अस्पतालले ९ सय ५० रुपैयाँ प्रतियुनिट लिने गरेको पाइएको छ । यस्तै, हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले प्रतियुनिट १ हजार रुपैयाँ लिएको पाइएको छ । वीर अस्पतालले एक युनिट रगतबापत ५ सय ५० रुपैयाँ लिने गरेको पाइएको छ । यस्तै, ग्रिन सिटी गोंगबुले प्रतियुनिट १ हजार ९ सय रुपैयाँ लिएको पाइएको छ । तर, रक्त सञ्चार सेवाले रगतबापत प्रतियुनिट ४ सय ९५ रुपैयाँ लिँदै आएको छ । यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ शुल्क लिने गरेको छ ।
पोकामा संकलन गरिएको रगतको एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफलिस, ब्लड ग्रुपिङ र आरएच टाइपिङ गर्नुपर्ने हुन्छ । यसका लागि पनि शुल्क लिएको पाइएको छ । १५ वर्षअघि प्रतियुनिट ४ सय ९५ रुपैयाँ निर्धारण भएको थियो । यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ तोकिएको थियो । अस्पतालले रगतको मूल्य फरक फरक लिइरहँदा पनि सरकारले नियमन नगरेकाले बिरामी अस्पतालले भने जति मूल्य तिर्न विवश छन् । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रगतबापत रकम नलिएको बताउँछ । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले कुनै पनि अस्पतालले रगत किनेबापत रकम नलिएको बताए । गुप्ताले एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिसको परीक्षण गर्न रकम लिइएको बताए ।
– नियमन निष्प्रभावी
– एक वर्षमा २,७१,९२२ युनिट रगत संकलन
—रक्तदाता घट्दै
–रगतमा व्यापार गर्नु अपराध हो : स्वास्थ्य मन्त्रालय
देशभरका ३५ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थाले प्रयोगशालाबाट स्थायी रूपमा रक्त सञ्चार सेवाका लागि अनुमति लिएको पाइएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदयरोग केन्द्र, कान्तिबाल अस्पताल, कोसी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताललगायतले रक्त सञ्चार सेवा दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत अनुमति पाएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग एमओयू गरेर नेपाल रेडक्रस सोसाइटी मातहत १ सय १० स्थानबाट रक्त सञ्चार सेवा उपलब्ध भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार २ लाख ७१ हजार ९ सय २२ युनिट रगत संकलन भएको छ । यस्तै, ३ लाख ४५ हजार १ सय ५१ युनिट रगत वितरण भएको पाइएको छ ।
क्र.सं. अस्पताल मूल्य (प्रतियुनिट)
१. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र १,२००
२. बीएनबी अस्पताल, ललितपुर ९५०
३. हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टर कमलपोखरी १,०००
४. परोपकार म्याटरनिटी एन्ड ओमनस हस्पिटल थापाथली ५३५
५. ग्रिन सिटी, गोंगबु १९००
६. वीर अस्पताल ५००
राजधानी दैनिकबाट