काठमाडौं, २९ पौष । कृषि विकास बैंकको साँढे चार करोड रुपैयाँ दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर भएको छ । बैंकको न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मीसमेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार चार करोड ४२ लाख ७३ हजार छ सय ११ रुपैयाँ गैरकानुनी ढंगले हानिनोक्सानी तथा दुरुपयोग गरेको भन्ने उजुरीरनिवेदन सम्बन्धमा अनुसन्धान हुँदा आरोपीहरु दिपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज बिष्ट र प्रकाश घतानीसमेतले एक आपसमा सरसल्लाह, सहमति र मिलेमतो गरी हिनामिना गरेको देखिएको छ । कृषि विकास बैंक, बैंकिङ मूख्य शाखा कार्यालय, न्यूरोडवाट अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाईमास्ने उद्देश्यले बैंकलाई गैर-कानूनी हानिनोक्सानी गर्ने गराउने योजना बनाई बैंकमा रहेको रकम झिक्ने, निकाल्ने र राख्ने कार्यमा विभिन्न प्रकृयाहरु मिलाउने र निकालिएको उक्त रकम भाग लगाई हिस्सा लिनेखाने, लाभ प्राप्त गर्नेसमेतको कार्य गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
प्रेमहरी ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दिपिका रेग्मीले गरेको अनियमितता आफूसमेत संलग्न रहि उक्त रकम बाँडिचुँडी खाईमासी बैंकलाई हानिनोक्सानी पुर्याई तथा बैंकमा बिभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका एकाउन्ट पेइ चेकहरु पठाई इसीसीका माध्यमबाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरी सोही चेकहरुमा भएको विवरणहरु सच्याई गलत प्रतिवेदन पठाई एक पटक प्रयोग भई सकेको चेकलाई पुनस् प्रयोग गरी दिपिका रेग्मीले अथराइजका लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेश गरेकोमा उनीहरुले पुन प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरु मात्रैका आधारमा उक्त चेक सदर गरेको अनुसन्धानबाट देखिएको जनाइएको छ ।
अख्तियारका अनुसार मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरित चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरी कृषि बिकास बैंकलाई चार करोड चौविस लाख तेह्र हजार छसय एघार रुपैयाँ पैंतालिस पैसा नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।
अख्तियारको आरोपपत्रमा आठजनाबारे के छ
१. टेलर सहायक दिपिका रेग्मी कृषि विकास बैंक, मूख्य शाखा कार्यालय, न्यूरोड रु.४,२४,१३,६११।४५ निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
२. तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल ” रु.४,२४,१३,६११।४५ ”
३. ऋण शाखा प्रमुख गोपाल गिरी ” रु.२,६१,१९,४१५।- ”
४. तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी ” रु.१,१०,३३,१९६।४५ ”
५. ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा ” रु.६७,२१,०००।- निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
६. तारानाथ पाण्डे ” रु.४,००,०००।- निजले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
७. अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट रु.४,२४,१३,६११।४५ निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानिनोक्सानीको बिगो कायम गरी मूख्य आरोपी दिपिका रेग्मीलाई भएसरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
८. संचालक प्रकाश घतानी दुर्गा ज्वेलर्स रु.२,६७,७५,४३५।- निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानि नोक्सानीको बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।