Logo

सांसदहरुको उपेक्षामा प्रतिनिधिसभा र संसदीय समिति बैठक



पुष २९, काठमाण्डौ । चौथो अधिवेशनमा प्रतिनिधि सभाको बैठक ६० दिन बस्दा ८० प्रतिशत बैठकमा अधिकांश शीर्ष नेताहरु उपस्थित भएनन् । ७० प्रतिशत बैठकमा दर्जन बढि सांसद हाजिर भएनन् । अझै मिनि संसद् भनेर चिनिने र छलफलका हिसावले महत्वपूर्ण मानिने संसदीय समितिको बैठकमा कतिपय नेताहरु एक दिन पनि पुगेका छैनन् ।

२०७६ बैशाख १६ गतेबाट सुरुभएको संसद्को चौथो अर्थात बजेट अधिवेशन ६० दिनमा ६५ पटक बसेर सकियो । तर, यो बैठक अवधिमा अधिकांश शीर्ष र प्रभावशाली भनिएका सांसद्हरुलाई खासै देखिएनन् । प्रतिनिधि सभाको बैठकमा ४० प्रतिशत भन्दा कम हाजिर भएका सांसदहरुमा गोकुलप्रसाद बाँस्कोटा ६ दिन, मोहम्मद इश्तियाक राइ ८ दिन, केपी शर्मा ओली ११ दिन, गोकर्ण बिष्ट १२ दिन, धनबहादुर बुढा १४ दिन र सिताराम महतो १५ दिन रहेको छ ।

त्यसैगरी पुष्पकमल दाहाल १७ दिन, बिना मगर १७ दिन, नागेन्द्र कुमार १८ दिन र शेर बहादुर देउवा १९ दिन मात्रै बैठकमा उपस्थित भए । उपेन्द्र यादव, थममाया थापा, निर्जला राउत, रुही नाज, रेणुकुमारि यादव, शिव कुमार मण्डल, सुर्यनारायण यादव, जगत बहादुर विश्वकर्मा, शक्ति बहादुर बस्नेत, शशांक कोइराला, प्रमोद कुमार यादव, छबिलाल विश्वाकर्मा, सुर्य बहादुर केसी, कर्मा घले, मातृका यादव, चक्रपाणी खनाल, इश्वर पोखरेल र रघुविर महासेठको उपस्थिती ४० प्रतिशतभन्दा कम छ । संसद्को बैठकलाई खासै महत्व नदिनेसांसदहरुले मिनि संसद् भनेर चिनिने संसदिय समितिलाई त झनै वास्तै गरेको पाइदैन् । कतिसम्म केहि सांसद्हरु समितिको बैठकमा एक दिन पनि उपस्थित भएका छैनन् ।

https://www.youtube.com/watch?v=WF-FDVxNVnM

यसमा पनि शीर्ष र प्रभावशाली भनिएका नेताहरु नै छन् । संसदिय समितिको बैठकलाई महत्व नदिने सांसदहरुमा अर्थ समितिका सदस्य डा. शशांक कोइराला एक नम्बरमा पर्छन् । १९ पटक बैठक बस्दा कोइराला एक पटक पनि सहभागि भएनन् । त्यसैगरी महिला तथा सामाजिक समितिकी सदस्य महेन्द्र कुमारी लिम्बु ८ पटक बैठक बस्दा एक पटक पनि सहभागि भइनन् । राज्य व्यवस्थापन तथा शुशासन समितिको बैठक ४९ पटक बस्दा सदस्य पुष्पकमल दाहाल एक दिन मात्रै सहभागि भए ।

सार्वजनिक लेखा समितिको बैठक ८ पटक बस्दा सदस्य शरतसिंह भण्डारी एकपटक मात्रै पुगे । एकपटक मात्रै समितिको बैठकमा सहभागि हुनेहरुमा प्रकाश मान सिंह पनि पर्छन् । उनी अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य हुन् । प्रतिनिधिसभा तथा संसदीय समितिमा सांसद अनुपस्थित हुनुलाई दलहरु भने सामान्य मान्छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि जिम्मेवार जवाफ दिएनन् । यद्यपी आगामी दिनमा त्यस्ता बैठकलाई प्राथमिकता दिने प्रतिवद्धता भने व्यक्त गरेका छन् । कानुनविद् तथा विश्लेषक सुनिल पोखरेल नेताहरुको यहि रबैयाका कारण पुरै लोकतन्त्र र संसदीय व्यवस्था नै खतरामा पर्नसक्ने टिप्पणी गर्छन् ।

समिति बैठकलाई प्राथमिकता नदिने सांसदहरुमा झलनाथ खनाल, शेर बहादुर देउवा, बिनोद कुमार चौधरी, बिष्णु प्रसाद पौडेल, मिनेन्द्र प्रसाद रिजाल, प्रभु शाह, पम्फा भुसाल, हृदेश त्रिपाठीलगायत रहेका छन् । संसदसचिवालयले उपलब्ध गराएको यो हाजिरी विवरणले के प्रष्ट पार्छ भने हाम्रा सांसद्हरु संसद्प्रति जिम्मेवार छैनन् ।

उनीहरुकै कारण संसदका कयौं काम रोकिएका छन् । ढिला सुस्ती भएका छन् । जनताको जहाँ बसेर काम गर्न पठाएका छन् त्यहाँ नै उनीहरु नभेटिनुले उनीहरु जनताप्रति नै बेमलबी त बनेका होइनन् भन्ने स्वभाविक प्रश्न उब्जाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot