Logo

सामाजिक सुरक्षा कोष दोहोरो कर अव्यावहारिक



काठमाडौँ, २ माघ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा नीतिगत रूपमा देखिएका समस्याको तत्काल सम्बोधन गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । योजना ल्याउँदा सहमति जनाएका टेड युनियन र रोजगारदातालगायतका सरोकारवालाले कार्यान्वयनका क्रममा नीतिगत रूपमा समस्या देखिएकाले त्यसलाई तत्काल सच्चाएर प्रभावकारी कार्यान्वयनमा जानुपर्ने आवश्यकता औँल्याएका हुन् ।

बैङ्कर्स एसोसिएसनका प्रमुख कार्यकारी निर्देशक (सीईयो) अनिल शर्माले सामाजिक सुरक्षा योजना राम्रो कार्यक्रम हुँदाहुँदै दोहोरो करको प्रावधानले बैङ्क दोधारमा परेको र यो व्यवस्था हट्ने वित्तिकै सबै बैङ्क कोषमा आबद्ध हुने विश्वास दिलाए । विद्यमान प्रावधान रहिरहेकै अवस्थामा श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नसक्ने उनको भनाइ छ । नेपाल टे«ड युनियन काँग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सरकार, रोजगारदाता श्रमिकको त्रिपक्षीय सहमतिमा गत वर्षदेखि कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनका चरणमा दोहोरो कर, अवकाश उमेर ५८/६० वर्षको प्रावधान, बीमा सेवालगायत विषयले समस्या आएको बताए ।  कोषमा योगदान गर्नेलाई दोहोरो कर लगाएर दण्डित गर्ने व्यवस्था श्रमिकका पक्षमा हुँदैन यस्तो प्रावधान तत्काल संशोधन गरिनुपर्छ । अर्को, श्रमिकले खाईपाई आएको तलबमा कोषमा गएकै कारण घट्न नहुने पनि उनको भनाइ छ । उनले भने, पछिल्लो पटक सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अधिकांश रोजगारदाता प्रतिष्ठानले श्रमिकले हाल खाईपाई आएको तलबबाट कटाएर कोषमा रकम पठाएका छन, त्यसले गर्दा पनि श्रमिक कोषमा जान मन गरिरहेका छैन, यसमा पनि स्पष्ट व्यवस्था हुनुपर्छ । उनले कोषमा आबद्ध हुने क्रममा देखिएका जटिलताको तत्काल ऐन वा कार्यविधिबाट कुनमा संशोधन गर्नुपर्ने हो गरेर यसको कार्यान्वयनमा गति दिनुपर्ने र यसको कार्यान्वयनलाई टेड युनियन काँग्रेसको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

कोषका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता रमेश बडालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुने केही सीमित व्यक्तिलाई दोहोरो कर लगाएर दण्डित गर्नु राम्रो काम नभएकाले त्यस प्रकारको प्रावधान तत्काल संशोधन गरिनुपर्छ भने । दोहोरो करको समस्या अन्य श्रमिकलाई नभएर मासिक एक लाख २५ हजारभन्दा बढी कमाउने झण्डै सात हजार व्यक्तिको मात्रै समस्या हो, त्योभन्दा कम कमाउनेलाई कुनै समस्या छैन, उनले भने । हामी कोषमा गरिने योगदानमा कर नै लगाउनु हुँदैन भन्ने पक्षमा छाँै, सबै श्रमिकलाई दोहोरो कर तिर्नुपर्ने भन्ने भ्रम हो, यस्ता हल्लाका पछाडि कोही पनि श्रमिक लाग्नु हुँदैन । सामाजिक सुरक्षाकोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले राजधानीमा मङ्गलबार आयोजित एक कार्यक्रममा भ्रम फैल्याउन गरिएको प्रतिक्रियाबाहेकका अन्य गुनासो र कमजोरीलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्