Logo

ओली र प्रचण्डलाई मार्सी खुवाएर ‘पार्टी एकीकरणको मध्यस्थकर्ता गरेको’ दाबी गर्ने दुर्गा प्रसाईं अप्ठ्यारोमा



काठमाडौं, २ माघ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं यतिबेला प्रहरीको खोजीमा परेका छन् । उनीमाथि प्रहरीमा उजूरी परेपछि अदालतमा पक्राउको अनुमति प्राप्त भइसकेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । तर, प्रसाईं मोबाइल बन्द गरेर गायब भएका छन् ।

कुनैबेला दुर्गा प्रसाईं राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्थे । यसको खुलासा उनले मार्सी भातको चामल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डसँगै खाएर गरेका थिए । त्यतिबेला ओली र प्रचण्ड अलग पार्टीमा थिए । उनीहरुलाई मिलाउन दुर्गा प्रसाईंले भूमिका खेलेको खुलासा समेत भएको थियो । प्रसाईं स्वयंले ओली र प्रचण्डलाई मिलाउन आफूले मध्यस्थकर्ताको भूमिका खेलेको सार्वजनिक रुपमै बोलेका थिए । मार्सी चामलको भात खाएर बैठक बसेपछि नेकपाबीच एकता प्रक्रिया टुंगो लागेको थियो । त्यो घटनाले नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्यायो ।

मार्सी चामलको ब्रान्डलाई स्थापित गर्नमा दुर्गा प्रसाईंको ठूलो भूमिका छ । ओली र प्रचण्डले उक्त चामलको भात खाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ब्रान्ड बन्न गयो । मार्सी चामको देशभित्र व्यापक माग भएर मूल्य बढ्यो ।

दुर्गा प्रसाईं विवादास्पद भनाईले आलोचित पनि भए । तैपनि, उनी बोल्न छाडेनन् । आफूले कम पढेको भन्न पछि नपर्ने उनले पछिल्लो समय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि गम्भीर आरोप लगाए । २० करोड घुस मागेको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नारायणकाजी श्रेष्ठको समेत नाम मुछे । प्रसाईंले आफूमाथि घुस लिएको आरोप लगाएपछि गिरी त्यसविरुद्ध अदालत पुगे । प्रसाईंको विवादास्पद अभिव्यक्तिका कारण उनी विवादमा आइरहेपनि पछिल्लोपटक उनी प्रहरीको खोजीमै पर्नु अर्थपूर्ण छ । यसले उनी शक्तिकेन्द्रबाट समेत टाढिएको देखिदैछ ।

झापास्थित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि प्रसाईं निकै सक्रिय रहँदै आएका छन् । उनले मेडिकल माफियाविरुद्ध डा. गोविन्द केसीले गरेको आन्दोलनको कडा आलोचना गर्दथे । यसकारण पनि उनी विवादमा पर्थे । पछिल्लो समय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध खनिए । गिरीले द्धारिका होटलमा भेट्दा घुस मागेको आरोप लगाए । यसले दुवैबीच विवाद बढ्यो । एक अर्काविरुद्ध उजूरी र मुद्दा हाले । प्रसाईंमाथि भने प्रहरीले अनुसन्धान बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्