Logo

संसद बन्धक बनाएको भन्दै नेकपामाथि खनियो कांग्रेस, एमसिसी अविलम्ब पारित गर्न माग



काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले संसदको हिउँदे अधिवेशन सुरु भएको एक महिना वितिसक्दापनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भैरहनु सत्तारुढ नेकपाको घोर अकर्मण्यताको परीणाम भएको आरोप लगाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आजको बैठकले यस्तो आरोप लगाएको हो । आजको बैठकले गरेका निर्णयमध्ये पहिलो निर्णयमा भनिएको छ,”गत पुष ४ बाट प्रारम्भ गर्न आव्हान गरिएको संसद अधिवेशन लगभग एक महिना वितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको घोर अकर्मण्यताको परिणाम हो ।”

संसदमा अल्पमतमा रहँदा विभिन्न बहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको पनि कांग्रेसको आरोप छ । प्रमुख सचेतक बालकृष्ण खाँणको नाममा जारी विज्ञप्तीमा भनिएको छ,”यस गैरजिम्मेवार क्रियाकलाप प्रति नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ । तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न दृढतापूर्वक माग गर्दछ । प्रतिनिधि सभाको आगामी पौष ६ गते बस्ने बैठकलाई सुचारु गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रकृया प्रारम्भ गर्न माग गरिन्छ ।”

आजको बैठकले गरेको दोस्रो निर्णयमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग गरिएको कुरा उल्लेख छ । उक्त सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको पनि उसले स्पष्ट पारेको छ । file photo



प्रतिक्रिया दिनुहोस्