काठमाडौं, ४ माघ । अन्डरवल्ड डन दाऊद इब्राहिम भारतले सर्वाधिक खोजी गरेकामध्ये पर्छन् । उनी कहाँ छन् भन्नेमा भारत पनि अज्ञात छ । तर, बेला बेलामा पाकिस्तान या दुबईमा रहेको अपुष्ट खबर आइरहन्छ ।
पछिल्लो समय दाऊदको विषयले काठमाडौं देखि दिल्लीसम्म तरंग ल्याएको छ । ८ जनवरीमा पक्राउ परेका एजाज युसुफ लकडावालको नेपालमा व्यवसायिक लगानीले धेरै प्रश्न खडा गरेको छ । काठमाडौंमा उनले अण्डरवल्र्ड डन दाऊद इब्राहिमको पैसा चलाइरहेको विषय बाहिर आएको छ ।
भारतीय सञ्चारमाध्यमले लकडीवालको माध्यमले नेपालमा दाऊद इब्राहिमको लगानी रहेको र त्यसमा नेपालका कतिपय नेतारुको समेत पार्टनरशिप रहेको दाबी गरेका छन् । प्रभातखबरले दाऊद कम्पनिको काठमाडौंको ठूलो कारोबार रहेको र सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रहेको उल्लेख गरेको छ । कतिपय निर्माण कम्पनिमा दाऊदको पैसा रहेको र त्यसमा कतिपय नेपालका राजनीतिक दलका नेताहरुको समेत पार्टनरशिप रहेको दाबी गरिएको छ । प्रभातखबरले लेखेको छ, कतिपय कन्स्ट्रक्शन र अन्य कम्पनिमा दाऊदको पैसा छ, यसमा नेपालका कतिपय नेताहरुको पनि पार्टनरशिप छ । तर, ती नेताहरुको नाम भने खुलाइएको छैन ।
सन् २००८ देखि काठमाडौंमा दाऊद कम्पनिको लगानी लकडावालाले हेर्न थालेको उल्लेख छ । काठमाडौंमा दाऊको ठूलो होटल पनि रहेको दाबी गरिएको छ । नेपालको सीमा क्षेत्र र पटनामा समेत लकडीवालाको धन्दा विस्तार भएको भनिएको छ ।
लकडीवाला पटनाबाट गत हप्ता पक्राउ परेको भनिएको छ । कतिपयले नेपालभित्रबाट पक्राउ परेको समेत दाबी गरेका छन् । दाऊद भारतको सर्वाधिक खोजी गरिएका अण्डरवल्र्ड डन हुन् । उनलाई भारतको विभिन्न अदालतमा मुद्दा दायर छ । भारतले दाउदलाई पाकिस्तानले आफूविरुद्ध प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।