Logo

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने



काठमाडौँ, ५ माघ । काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ ।

प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ । सुरुङमार्ग निर्माणको अनुमति पाएको निजी क्षेत्रका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्दा प्रदेश सरकारले अग्रसरता देखाएको हो । २०६९ सालमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । अहिलेसम्म सो कम्पनीले सुरुङमार्ग निर्माणको आर्थिक स्रोतको आधार नै पेस गर्न सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले सो सुरुङमार्ग निर्माण गर्ने गरी २०६९ साल वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको जानकारी दिए । । उनले भने, “डीपीआर निर्माणको काम अन्तिम चरणमा छ, चैतसम्म डीपीआरको काम सकिन्छ । डीपीआर सकिनेबित्तिकै निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाइन्छ ।” अहिले बोलपत्र आह्वानका लागि तयारी भइरहेको जानकारीसमेत उनले दिए ।  उनले भने, “नयाँ मोडेलमा सो सुरुङमार्ग निर्माण गरिने छ । सुरुङमार्गको डिजाइन प्रमाणित भएपछि निर्माणका लागि बोलपत्र आह्वान गरिन्छ ।” चिनियाँ र नेपाली परामर्श कम्पनीले संयुक्त रूपमा ‘डीपीआर’को काम गरिरहेको जानकारीसमेत उनले दिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्