Logo

मिटर ब्याजको फन्दा



काठमाडौँ, ५ माघ । थानकोटकी जमुना रेग्मीको फेसबुकमा सबैभन्दा पछिल्लो स्टाटस मिटर ब्याजबारे थियो । उनले लेखेकी थिइन्, ‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके मिटर ब्याज डबल–तेब्बर बनाउने र ऋणीलाई मर्न बाध्य बनाउने गिरोहको आपराधिक गतिविधि अत्यधिक बढेको छ ।’ उनले स्टाटसमा चन्द्रागिरि नगरपालिकामा मिटर ब्याज अत्यधिक बढेको छ भन्ने सुन्नमा आएको पनि उल्लेख गरेकी छन् ।

पुस १९ मा जमुनाले लेखेको सोही स्टाटस उनका निम्ति अन्तिम भइदियो । यस्तो स्टाटस लेखेको ठ्याक्कै १२ दिनपछि उनी श्रीमान् विनय लामिछाने र दुई नाबालक छोराहरूसहित त्रिशूलीमा हेलिइन् । बिहीबार साँझ धादिङको सिउरेनीटारस्थित झोलुंगे पुल नजिकबाट नदीमा पसेका विनयको उद्धार भयो भने जमुना र दुई छोरा बेपत्ता छन् । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार जमुनाको स्टाटसपछि सामूहिक आत्महत्याको यो घटनामा मिटर ब्याजको भूमिका पनि हुन सक्नेतर्फ अनुसन्धान सोझिएको छ । डीएसपी श्रेष्ठका अनुसार विनयले छाडेको भनिएको सुसाइड नोटमा विभिन्न व्यक्तिलाई १ करोड ५ लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख छ भने रकम उल्लेख नगरी विभिन्न सहकारीबाट पनि ऋण लिइएको उल्लेख छ । कान्तिपुरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘व्यक्तिगत तवरबाट लिइएको ऋणमा मिटर ब्याज पनि छ कि भनेर अनुसन्धान गरिरहेका छौं ।’

डीएसपी श्रेष्ठले पछिल्लो तीन महिनामा वृत्तमा कुनै मिटर ब्याजसम्बन्धी उजुरी परेको छ कि भनेर पनि बुझेका थिए । ‘हतपती मिटर ब्याजका घटना प्रहरीमा आउने गर्दैनन्, जमुना र विनयका तर्फबाट पनि त्यस्तो उजुरी वा निवेदन आएको भेटिएन,’ उनले भने । श्रेष्ठले आफ्नो अनुभवका आधारमा मिटर ब्याजको धन्दा सतहमा नदेखिए पनि भित्रभित्र फैलिएको बताए । उनले मिटर ब्याजकै कारण कैयन् मानिस डिप्रेसनको चरम विन्दुमा पुगेको अनुमान सुनाए । भने, ‘चेक बाउन्सका कैयन् घटनाभित्र मिटर ब्याजको कथा भेटिन्छ ।’ मिटर ब्याजका कारण आत्महत्याको बाटोतर्फ अग्रसर भएको यो न पहिलो घटना हो न त अन्तिम नै हुने देखिन्छ । ०७६ साउनमा धनगढी फूलबारीकी आरती थापाले कतारमा रहेका श्रीमान् धनसिंह थापालाई फेसबुक म्यासेन्जरमार्फत मिटर ब्याजले आफू बर्बाद भएको र ढुकुटीको चक्करमा परेर ४९ लाख रुपैयाँ, तीनतले घर र दुई कट्ठा जमिन गुमाएको बताइन् । यस्तो खबर सुनाएकै साँझ उनले आत्महत्या गरिन् । ढुकुटी खेलाएर जम्मा भएको २ करोड रुपैयाँभन्दा धेरै रकम अनियमितता गरेको आरोपमा धादिङकी भवानी लामा ०६८ चैत पहिलो साता पक्राउ परेकी थिइन् । मिटर ब्याजीहरूको लोभमा परेर अनियमिततामा उनी मुछिएको प्रहरी अनुसन्धानले देखाएको थियो । तर महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएकी उनले हिरासत कक्षमै आत्महत्या गरेपछि प्रहरी अप्ठेरोमा पर्‍यो । लामाको आत्महत्याको घटना सेलाउन नपाउँदै कपन ३ स्थित डेरामा विराटनगरका नारायण अधिकारीले आत्महत्या गरेको घटना बाहिर आयो । उनको आत्महत्यामा पनि मिटर ब्याजीहरूकै भूमिका थियो । ढुकुटी खेल्दाखेल्दै डेढ करोड रुपैयाँ अधिकारीले गुमाएको र त्यसको ठूलो हिस्सा मिटर ब्याजीहरूबाट लिएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

अनौपचारिक स्रोतहरूबाट अनेकन सर्त मानेर ऋण लिने अनि सर्तहरूमा जेलिएर कर्जा तिर्नै नसक्ने परिस्थितिमा पुगेर आत्महत्या गर्न अग्रसर हुने घटनामा कमी आएको देखिँदैन । नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ ले राष्ट्र बैंकको अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न पाइँदैन । अनौपचारिक अर्थतन्त्रको फैलावट बढ्दै जाँदा मिटर ब्याजको धन्दा चलाउनेहरूको संख्या बढ्दो देखिन्छ । पत्नी र नाबालकसहित सामूहिक आत्महत्याको बाटो रोजेको विनय त्यस्तै मिटर ब्याजीको पासोमा पर्नेमध्येका एक हुन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा कर्जाका लागि मिटर ब्याजीको शरणमा पर्ने र चर्को ब्याजदरका कारण सर्वसाधारणले आत्महत्या गर्नुपर्ने घटनालाई बुझ्न सर्वसाधारणको वित्तीय पहुँचका लागि राज्यले के गर्‍यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताउँछन् । उनका अनुसार पछिल्ला वर्षहरूमा सुरु भएको बैंकहरूको मर्जर प्रणाली र कर्जा दिने सर्तहरूमा गरिएको परिवर्तनले सर्वसाधारणलाई बैंकबाट कर्जा पाउन मुस्किल बन्दै गएको छ । उनले मर्जर नीतिपछि ८८ वटा विकास बैंक २५ मा झरेको र ७९ वित्त कम्पनी मर्ज भएर २२ मा झरेको बताए । उनले भने, ‘वित्तीय संस्था र बैंकहरू विकेन्द्रीकरण हुनुपर्नेमा केन्द्रीकृत भए । वित्तीय स्थायित्व भन्दै हामी मर्जरतिर गयौं ।’ उनको बुझाइमा एक समय मध्यम वर्गमा रहेकाहरूले बैंकबाट धितो राखेर कर्जा लिने गरेर आफ्नो आर्थिक अवस्था सुधारेका थिए । पछिल्लो समय त्यसमा कडाइ गरिएकाले ठूलो संख्यामा सर्वसाधारण अनौपचारिक क्षेत्रबाट ऋण लिन थाले ।

थापाले हङकङ, सिंगापुरजस्ता सिटी स्टेटमा लागू हुने वित्तीय मापदण्ड नेपालमा लागू गरिरहेको टिप्पणी गरे । पछिल्ला चार–पाँच वर्षयता हामीले वित्तीय क्षेत्रलाई संकुचित गर्दै लगेका छौं,’ उनले भने, ‘यसले सर्वसाधारणलाई कर्जा लिनका निम्ति साहु–महाजन वा मिटर ब्याजीकहाँ जानुपर्ने परिस्थिति निर्माण गरिदियो ।’ नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले मिटर ब्याजीको धन्दा चलाउने सर्लाहीका श्याम प्रदेशी पक्राउ परेको दृष्टान्त सुनाउँदै भने, ‘तोकिएको भन्दा धेरै ब्याजमा रकम चलाउने काम गैरकानुनी हो र यसमा संलग्नहरू पक्राउ पर्छन् नै ।’ डीआईजी क्षत्रीले कर्जा पाइयो भन्दैमा लिइहाल्ने अनि जस्तोसुकै सर्त मानेर पनि कर्जा लिने गर्दा मिटर ब्याजीको फन्दामा पर्ने गरेको बताए । उनले भने, ‘मिटर ब्याजीको फन्दामा पर्ने र आत्महत्या गर्ने वा त्यो विन्दुसम्म पुग्न बाध्य भएकाहरू कति छन् भन्नेबारे विस्तृत अध्ययन गर्नुपर्ने खाँचो देखिन्छ ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्