Logo

ऋणभारले ल्याउँदै छ समाजमा समस्या



काठमाडौँ, ६ माघ । नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ ।

यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको छ । ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक आत्महत्या गरेको भनिएको छ । प्रहरी अनुसन्धानअनुसार भने सोही कारण नै हो भन्ने ठाउँ नदेखिएको बताइन्छ । इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले भने, “इनभेस्टमेन्ट कम्पनी सञ्चालनका क्रममा ऋण लागेको देखिन्छ तर त्यही ऋणका कारण सामूहिक आत्महत्या गर्नैपर्ने अवस्था देखिँदैन । ” श्रीमती जमुना, दुईवर्षे छोरा बिजन र छ महिनाको छोरा रिजनसहित शुक्रबार त्रिशूली नदीमा हामफाल्न पुगेका विनय उद्धारपछि बाँच्न सफल भए पनि उनले परिवार भने गुमाउनु परेको छ । उनलाई यति खेर ऋणको भारले भन्दा परिवार गुमाएको पीडाले तड्पाएको छ । “विनयले चन्द्रागिरि थानकोट क्षेत्रमा सञ्चालित तीनवटा सहकारी र  चिरपरिचितसँग ऋण लिएको देखिन्छ”, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चर्को ब्याजसँंगै ऋण तिर्न आएको दबाबका कारण तनाव सहन नसकी आत्तिएर उनले गलत बाटो रोजेको हो । त्यस्तै कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले पनि बैङ्कको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेको छ । लामिछाने परिवारको सामूहिक आत्महत्या घटना भएको एक दिनअगाडि बिहीबार वडाध्यक्ष खड्का भारतको बहराइचमा मृत अवस्थामा भेटिएको हो ।

खड्काको साथमा फेला परेको दुई पेज लामो ‘सुसाइड नोट’मा वाणिज्य बैङ्कलाई दोषी देखाइएको छ । घरकर्जास्वरूप लिएको ऋण तिर्न नक्सदा बैङ्कले तनाव दिएकाले गलत बाटो रोज्न बाध्य भएको सुसाइट नोटमा उल्लेख छ । चर्चित गायक रामकृष्ण ढकालको घरपरिवार टुक्य्राउन वित्तीय संस्थाको ऋण नै मुख्य दोषी रहेको बताएको छ । यस विषयमा गायक ढकालले मुख खोल्न नचाहनुभए पनि केही समयअघि ढकाल र पत्नी नीलम शाहबीच रहस्यमय ढङ्गले सम्बन्धविच्छेद भएको छ ।

ललितपुर सैँबुस्थित घरजग्गा धितो राखी एक करोड ८० लाख रुपियाँ ऋण लिएको ढकाल दम्पतीलाई पाँच करोड ऋण नतिरेको भन्दै एक सहकारीले सार्वजनिक सूचना नै जारी गरेको थियो । तर पारिवारिक समस्या जनाउँदै ढकाल दम्पतीले सम्बन्ध विच्छेद गरेको हो । उल्लिखित यी तीन घटनाबाट प्रस्ट हुन्छ, बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण कति जटिल र अकल्पनीय बन्छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्