काठमाडौँ, ६ माघ । साइपाल गाउँपालिका धलौनका ५८ वर्षीय सौंरे बोहरा यार्सा टिप्न राइढुंगी जान थालेको दुई दशक भयो । केही वर्षयता भने लेकमा उनको मन रमाउन छाडेको छ । ‘अचेल लेक लेकजस्तो छैन, जता हेर्यो उतै उजाड छ,’ उनले भने, ‘जंगल सखाप भइसक्यो । त्यस्तो रहरलाग्दो ठाउँ हेर्दाहेर्दै वैरागलाग्दो भयो ।’
उनकै छेउमा बसेका ७० वर्षीय कुलभान बोहराले पाँच–छ वर्षयता लेक निकै उजाडिएको बताए । ‘सर्पको मुख नछिर्ने जंगल थियो, दिउँसै बाघ र भालुले भेडा खाइदिन्थे,’ उनले भने, ‘त्यो ठाउँमा घनाजंगल थियो भन्दा अचेलकाले पत्याउन्नन् ।’ सौंरे र कुलभानजस्तै उजाडिँदै गएको हिमाली क्षेत्रको वनका बारेमा चिन्ता गर्ने धेरै छन् । दशकअघिसम्म हराभरा रहेका हिमाली क्षेत्रका डाँडाकाँडा अहिले नांगा भएका छन् । यो समस्या साइपालमा मात्र नभएर जिल्लाभरि छ । साइपाल गाउँपालिकामा पर्ने माझा, फरालखेत, कालापानी, राइढुगी, औंलागाड, स्याङवन दोतले, इंगलदार, दहचौर, कालंगा, खोपालगायतका ठाउँको ठूलो वन क्षेत्र सखाप भइसकेको छ । सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, ठाडे, जर्सी, गोलढुंगालगायतका वनको अवस्था पनि उस्तै छ । बुंगल नगरपालिकाको उच्च हिमाली भेगमा पर्ने थानपाटन, धौलाढुंगा, चुपी, चालीगाड, ठाडीगाड, भिडेलगायत क्षेत्रका धेरैजसो वन उजाडिइसकेको छ । दुर्गाथली, छबिसपाथीभेरा, मस्टा र तल्कोट गाउँपालिका तथा जयपृथ्वी नगरपालिकाको लेकाली भेगको जंगल पनि तीव्र गतिमा फँडानी भइरहेको छ ।
‘पहिला पहिला पाल हाल्ने (यार्सा तथा जडीबुटी संकलनका बेला) ठाउँ वरिपरि प्रशस्त दाउरा पाइन्थे । लेकमा जाँदा दाउराको दुःख थिएन,’ सुर्माकी पवित्रा बोहराले भनिन्, ‘अचेल चाररपाँच घण्टा टाढा गएर दाउरा ल्याउनुपर्ने भएको छ ।’ आफ्नो गाउँबाट केही वर्ष पहिला यार्सा संकलन हुनु एकरदुई दिनअघि मात्र मानिस लेक उक्लने गरेकामा अहिले दाउराको जोहो गर्नकै लागि सिजन सुरु हुनुभन्दा १० र १५ दिनअगाडि जाने गरेको उनले बताइन् । ०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि यार्सा तथा अन्य जडीबुटी संकलन गर्न हिमाली क्षेत्रमा पुग्नेको संख्या ह्वात्तै बढ्यो । त्यसअघि यार्सा संकलन गर्न जानेको संख्या नगण्य थियो । पछिल्लो पाँच वर्षको तथ्यांक केलाउने हो भने बझाङमा यार्सा संकलनका लागि मात्रै लेक जानेहरूको संख्या प्रतिवर्ष ४८ हजारको हाराहारीमा छ । यो वर्षको वैशाखदेखि असारसम्म ५१ हजार जना साइपाल, सुर्मा, छबिसपाथीभेरा गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाको हिमाली क्षेत्रमा प्रवेश गरेको स्थानीय तहको अभिलेख छ । साइपाल गाउँपालिकाका विभिन्न वनमा गत वैशाखदेखि असारसम्म मात्र ८ हजार ९ सय ४६ जना यार्सा संकलनका लागि पुगेका थिए ।
कान्तिपुर दैनिकबाट