Logo

मेलम्ची आयोजना सकियो २२ किमि आरसीसी ढलान



काठमाडौँ, ७ माघ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये २२ किलोमिटरमा आरसीसी ढलानलगायतको संरचना निर्माण कार्य सकिएको जनाएको छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले एकतर्फी रूपमा टाट पल्टेको घोषणा गरेपछि ठप्प मेलम्चीको काम गत मंसिरबाट सुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङको ठेक्का पाएको हो । ‘सुरुङको भित्री संरचनाका काम बाँकी थियो, अब अन्तिम चरणमा छ,’ आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीले भने । सुरुङलाई बढी बलियो बनाउन ढलान र पर्खालको संरचना बनाउने काम तीव्र गतिमा भइरहेको उनको दाबी छ । ‘८० प्रतिशत काम सकिएको छ, अब २० प्रतिशत (४ किमि) मात्र बाँकी छ,’ उनले भने, ‘सुरुङको संरचना त तीन महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’

हेडवर्क्सलगायतको काम पनि करिब २० प्रतिशत भइसकेको उनले बताए । ‘सीएमसीले ठेक्का तोडेपछि हेडवर्क्स र सुरुङको काम बाँकी थियो,’ खत्रीले भने, ‘अहिले काम तीव्र गतिमा अघि बढेको छ, ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गरिरहेको छ ।’ तीनवटा भेन्टिलेटर सफ्टमध्ये सुन्दरीजल (४५ मिटर) र ग्यालथुम ९१०७ मिटर० निर्माण भइरहेको उनले बताए । तर, सिन्धु ९७७ मिटर० भेन्टिलेटर सफ्टको काम बाँकी रहेको जानकारी दिँदै उनले विद्युत् प्राधिकरणसँग निर्माणका लागि अनुरोध गरिएको बताए । ‘भारतीय ठेकेदार कम्पनीले ठेक्का लिएको थियो, सीएमसीले ठेक्का तोडेपछि त्यो पनि आएन, अब विद्युत् प्राधिकरणसँग समन्वय गरेर काम अघि बढाउने कुरा भइरहेको छ, केही दिनमै त्यो पनि निष्कर्षमा पुग्छ ।’ उनले १५ महिनाभित्र मेलम्चीका सबै काम सम्पन्न गर्ने गरी काम अघि बढेको र ठेकेदार तथा आयोजनाका कर्मचारी चौबिसै घण्टा निर्माणस्थलमा खटिएको बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्