काठमाडौं ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गरेको थियो । यससँगै विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) मङ्गलबारबाट सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री ओलीले करिब ४ महिना अघि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मोदीसँगै गरेको स्मरण गरे । उनले आज पनि सँगै जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्ने कुरा नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धको संज्ञा हो भने । प्रधानमन्त्री ओलीले नेपाल सन् २०१५ मा महाविनाशकारी भूकम्पका समयमा भत्किएका भौतिक पूर्वाधार निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको बताए । साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाइ नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए ।
नयाँ दशक नेपाल–भारतको स्वर्णिम दशक : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो नयाँ वर्षमा दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जनाएको छ ।
जोगवनी–विराटनगर इन्टीग्रेट चेकपोष्टको संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भने, नयाँ वर्षमा तपाईको सहयोग र समर्थनले हामी आफ्नो सम्बन्धलाई अरु नयाँ उचाईमा लैजाउ ।’ यो नयाँ दशक नेपाल–भारत सम्बन्धोको स्वर्णिम दशक रहेको उनले उल्लेख गरे। नेपाल–भारतको सहयोग अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा ५० हजारमध्ये ४५ हजार घरको निर्माण सम्पन्न भएका छन्, र बाँकी घर पनि चाँडै निर्माण हुने र नेपाललाई चाँडै नै हस्तान्तर गरिने उनले प्रतिवद्धता जनाए । सन् २०१५ को भूकम्प एक दर्दनाक दुर्घटना रहेको बताउँदै उनले भुकम्प जस्तो विपदा मानवको दृढता र निश्चयको परीक्षा लिन्छ र त्यसलाई नेपाली जनताले साहसका साथ सामना गरेको समेत स्मरण गरे ।
नेपाल–भारतको क्रस बोर्डर कनेक्टीभिटी प्रोजेक्ट जस्तो सडक, रेल र ट्रान्समिसनलाइनमा काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देश बीच सीमाको प्रमुख स्थानमा निर्माण भएको इन्टीग्रेट चेकपोष्टले व्यापार र आवागमनमा सजिलो बनाएको उनले धारणा राखे ।
गोरखापत्र अनलाइनबाट