Logo

‘बैङ्किङ क्षेत्रमा नयाँ प्रविधि र युवा भित्र्याउनु होस्’



काठमाडौँ, ८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको समग्र वित्तीय र बैङ्किङ प्रणाली दक्षिण एसियामै सुदृढ रहेको बताएको छ । उनले निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल झरेकोमा त्यसको प्रशंसा पनि गरे र मुलुकको आर्थिक वृद्धि छदेखि आठ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै उनले भने, अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो ।

यो सधैँ सरल र सीधा बाटोमा हिँड्दैन, हाम्रो भूगोलजस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ । अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिने उनको भनाइ थियो । कृषि विकास बैङ्क लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, नयाँ कर्मचारी आउन नदिँदा संस्थामा कुपोषण हुन्छ, ज्ञान सीप भएका युवा कर्मचारी र नयाँ प्रविधि नल्याए संस्थाको अवस्था के हुन्छ रु पुराना कर्मचारी स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैङ्किङ क्षेत्रको दुर्भाग्य भएको उनको भनाइ थियो । मुलुकको बैङ्किङ क्षेत्रमा प्रविधिसम्बन्धी ज्ञान भएका युवा पुस्तालाई अवसर दिन आग्रह गर्दै उनले बैङ्क तथा वित्तीय संस्थामा पुरानै कर्मचारीको हालीमुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गरे ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पछिल्लो समय सोचेअनुरूप बैङ्कले सहुलियत कर्जा वितरण गरेको नदेखिएकोले यसमा गम्भीर हुन आग्रह गरे । कृषि कर्जाबाहेक तोकिएका अन्य कर्जामा आउने असार मसान्तसम्म प्रत्येक वाणिज्य बैङ्कले पाँच सय जनालाई कर्जा वितरण गरेको हुनुपर्नेमा जोड दिँदै डेपुटी गभर्नर सिवाकोटीले यसको कार्यान्वयन नगरे आर्थिक जरिवाना गर्ने बताए ।  सम्पूर्ण वाणिज्य बैङ्कहरूले सहुलियतपूर्ण कर्जामा गम्भीर हुन आग्रह गर्दै उनले भने, सहुलियतपूर्ण कर्जा नेपाल सरकारले सुरक्षण गरेको अवस्था छ, सुरक्षणबापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि गरेको छ, कर्जा वितरण गर्न वाणिज्य बैङ्कलाई कन्जुस्याइँ किन रु बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बैङ्कलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिए । बैङ्कका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले खुला बजार, निजीकरण र प्रतिस्पर्धाको पछिल्लो चरणमा नेपाल सरकारको ‘बैङ्क तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम’ अन्तर्गत बैङ्कको पुनःसंरचनाका लागि एसियाली विकास बैङ्कको ऋण तथा प्रविधि सहयोगमा २०६३ सालमा कम्पनी ऐन, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनअन्तर्गत क वर्गको नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त गरी नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशतको सेयरमा अधिकांश कृषक भएको संचरनामा रही आफ्नो बलियो पुँजी संरचना, प्रविधियुक्त भएर अगाडि बढिरहेको बताए ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनीलकुमार उपाध्यायले बैङ्कले एक वर्षको बीचमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको बताए । बैङ्कको गत वर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्याङ्क विश्लेषण गर्दा परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको उनको भनाइ छ । कार्यक्रममा बैङ्कका पूर्वकार्यकारी अध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, पूर्वउपमहाप्रबन्धक शङ्करमान श्रेष्ठ, पूर्वउपमहाप्रबन्धक पशुपति मिश्र तथा बैङ्कका पूर्वविभागीय प्रमुख चन्द्रमान प्रधान, मुकुन्दबहादुर विष्ट, नरेन्द्र केसी, पूर्वशाखा प्रमुख गीता मिश्र र विजय मल्ललाई सम्मान गरिएको थियो । साथै बैङ्कमा २५ र २० वर्ष काम गर्ने कर्मचारीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot