Logo

सापकोटा साझा नेता



काठमाडौं, ८ माघ । नेकपाले अग्नि सापकोटालाई सभामुख उम्मेदवार तय गरेपछि कांग्रेसदेखि अधिकारवादीले सर्वोच्चमा विराचाराधीन मुद्दाको प्रसंग उठाए। काभ्रेका अर्जुन लामाको हत्या आरोपी सापकोटालाई सभामुख प्रस्ताव गरेकोमा नेकपाप्रति असन्तुष्टि देखियो। ‘कुन पदमा कस्तो प्रवृत्ति रु छनोट उचित भएन भने पदको गरिमा त धरापमा पर्छ नै’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरे। यस्तोमा विपक्षी कांग्रेसले के गर्छ भन्ने चासो थियो। तर, कांग्रेसले सापकोटालाई साझा नेता बनाउन मैदान खाली गरेको छ।

प्रतिनिधिसभाको सभामुखमा मंगलबार सापकोटाको मात्र उम्मेदवारी परेपछि १२ गते बस्ने प्रतिनिधिसभा बैठकले निर्विरोध निर्वाचित घोषणा गर्नेछ। ‘संसद्को गरिमा र भूमिकाका कारण यसको नेता साझा बन्नुपर्छ भन्ने मान्यता कांग्रेसले राखेको हो’, कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘सत्ताको नेतृत्व गर्ने पार्टी र प्रमुख विपक्षी मिलेर संसद्लाई प्रभावकारी र सशक्त बनाउनुपर्ने खाँचो छ।’ त्यसो त उम्मेदवारी दिए पनि संसद्को गणितले कांग्रेसले जित्ने अवस्था छैन। मधेस केन्द्रित राजपाको समेत समर्थन जुटाएपछि सत्तासीन नेकपाका उम्मेदवारका पक्षमा झण्डै दुई तिहाई बहुमत पुग्ने अवस्था छ।

विपक्षी दलको धर्म निर्वाह गर्न र आफ्नो असहमति जनाउन कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिनुपर्नेमा पार्टीभित्र माग थियो। तर पछिल्ला केही दिनमा संक्रमणकालीन न्याय सम्पादनमा शीर्ष नेतृत्वबीच भएको सहमति र उपसभामुखको ‘लोभ’ का कारण पनि कांग्रेसले उम्मेदवारी नदिएको कांग्रेसकै नेताहरू बताउँछन्। सचेतक भुसाल भने परिवर्तनलाई संस्थागत गर्न पनि सत्तापक्ष र विपक्षी मिल्नुपर्ने अवस्था रहेको र उपसभामुखबारे सत्तापक्षले नै सोच्नुपर्ने तर्क गर्छिन्। त्यसो त कांग्रेसले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पनि उम्मेदवारी दिएको थिएन। महरा पनि निर्विरोध निर्वाचित भएका थिए। सापकोटालाई निर्विरोध बनाउन सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रस्ताव गरेका थिए। दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा कुराकानी गरेका थिए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्