Logo

अस्तव्यस्त पर्यटन क्षेत्र, नेपाल भ्रमण वर्ष प्रभावित



माघ ८, काठमाण्डौ । नेपालको पर्यटन क्षेत्रमा जति सम्भावना छ, त्यति नै समस्या पनि । नेपाल भ्रमणमा आउने पर्यटकका लागि दिनुपर्ने सेवा पर्याप्त छैन । साहसिक पर्यटकको सम्भावना भए पनि जोखिम कम हुन सकेको छैन । जसले गर्दा सरकारलाई नेपाल भ्रमण वर्ष सफल बनाउन निकै चुनौति छ ।

अन्नपूर्ण क्षेत्रमा पदयात्रामा गएका पर्यटक बेपत्ता भएको एक हप्ता भइसक्यो । चार कोरियन र तीन नेपाली पर्यटक हराएका थिए । खोजी कार्य प्रभावकारी नहुँदा अन्नपूर्ण क्षेत्र असुरक्षित जस्तो देखिएको छ । अरु पर्यटकमा त्रास फैलिएको छ । नेपाल पर्यटन बोर्डले सम्बन्धित सबै निकाय परिचाल गरेर हराएका पर्यटकको खोजि कार्य भरहेको जानकारी दिएको छ ।

मंगलबार मकवानपुरको दामनस्थित एक होटलमा बसेका ८ जना भारतीय पर्यटक कोठाभित्रै निसास्सिएर मृत्यु भयो । दुई घटनामध्ये अन्नपूर्ण क्षेत्रमा प्राकृतिक विपत्ति थियो भने दामनको मानवीय त्रुटी । त्यसकारण सरकारलाई नै दोष दिनु उचित हुँदैन । तर घटना वा दुर्घटना भइसकेपछिको उद्धारमा भने सरकार चुकेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नवराज दाहाल बताउँछन् ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइरहेको छ । तर पर्यटन क्षेत्र भने अस्तव्यस्त छ । अहिले समग्र पर्यटन क्षेत्र व्यवस्थापन गर्नुपर्ने नेपाल पर्यटन बोर्ड नेतृत्वविहिन छ । पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन चुस्त छैन भने नेपाल वायुसेवा निगममा पनि अध्यक्ष पद रिक्त छ । महत्वपूर्ण पद रिक्त हुँदा पनि नेपाल भ्रमण वर्ष तथा पर्यटन क्षेत्र प्रभावित नहुने पर्यटन बोर्डका निर्देशक मणि राज लामिछाने बताउँछन् ।

सन् २०२० जनवरी १ देखि नेपाल भ्रमण वर्ष सुरु भएको छ । तर वर्षभरीमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य छ । तर पर्यटन क्षेत्रको अस्तव्यस्तालाई भने नजरअन्दाज गरिएको छ । नेपाल सुरक्षित छ, विदेशी पर्यटक नेपाल आएर डर त्रासबिना घुम्न सक्ने वातावरण छ भन्ने कुराको सन्देश विश्वभर फैल्याउनु जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्