Logo

ग्लोबल डेमोक्रेसी इन्डेक्समा नेपाल पाँच स्थान उक्लिदै ९२ औं स्थानमा



काठमाडौं, ८ माघ । नेपाल ‘ग्लोबल डेमोक्रेसी इन्डेक्स’ मा पाँच स्थान माथि उक्लिन सफल भएको छ । गत वर्ष ९७ औं स्थानमा रहेको नेपाल यसवर्ष ९२ औं स्थानमा पुगेको हो ।

द इकोनोमिक इन्टेलिजेन्स युनिटको ग्लोबल डेमोक्रेसी इन्डेक्स २०१९ का अनुसार नेपालले ५.२८ अंक प्राप्त गर्दै उक्त स्थान हासिल गरेको हो । सूची अनुसार नेपाल हाइब्रिड रिजाइमको वर्गमा पर्दछ ।

गत वर्ष नेपाल ९७ औं स्थानमा थियो । ५.१८ अंकका साथ नेपाल उक्त स्थानमा बनाउन पुगेको थियो । नेपाल हाइब्रिड रिजाइम भएको देशहरुको वर्गमा परेको थियो ।

द इकोनोमिक इन्टेलिजेन्स युनिटका अनुसार भारत ५१ औं स्थानमा छ । गत वर्ष ४१ औं स्थानमा रहेको भारत झरेर ५१ औं स्थानमा पुगेको हो । भारतमा नागरिक स्वतन्त्रता खस्केको उल्लेख छ । गत वर्ष ७.२३ अंक पाएको भारतले यस वर्ष ६.९० अंक पाएको छ ।

सूची बनाउँदा पाँचवटा विषयलाई आधार बनाइएको छ । जसमा चुनावी प्रक्रिया र बहुलवाद, सरकार संचालन, राजनीतिक सहभागिता, राजनीतिक संस्कार र नागरिक स्वतन्त्रता छन् ।

कुल अंकलाई आधार मानेर सँसारभरका देशहरुलाई चारवटा प्रकारमा राखिएका छन् । जसमा ८ अंकभन्दा बढी प्राप्त गर्ने पूर्ण लोकतन्त्र, ६ देखि ८ सम्म पाउने त्रुटीपूर्ण लोकतन्त्र, ४ देखि ६ अंक प्राप्त गर्ने हाइब्रिड शासन र ४ भन्दा कम अंक प्राप्त गर्ने सर्वसत्तावादीमा राखिएका छन् । उत्तर कोरियामा पुछारमा छ । नर्वे शिर्ष स्थानमा छ । आइसल्याण्ड दोस्रो र स्वीडेन तेस्रो स्थानमा छन् । न्युजिल्यान्ड चौंथो, फिनल्यान्ड पाचौं, आइरल्यान्ड छैठौं, डेनमार्क सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र स्वीटजरल्यान्ड दशौं स्थानमा छन् । नेपालभन्दा एक स्थान माथि भुटान ९१ औं स्थानमा परेको छ ।

चीन १५३ औं स्थानमा हुँदा रुस १३४ औं स्थानमा परेको छ । पाकिस्तान १०८, श्रीलंका ६९ र बँगलादेश ८० औं स्थानमा परेको छ ।-Photo Source: EIU



प्रतिक्रिया दिनुहोस्

Screenshot