काठमाडौँ, ९ माघ । दृष्टिविहीन मीनबहादुर तामाङ सधैंझैं अल्पदृष्टिविहीन पत्नी कल्पना र अन्य तीन दृष्टिविहीन साथीसहित कपनको डेराबाट न्युरोड छिर्ने चोकमा आइपुगे । सडकपेटीमा बसेर उनीहरूले स्पिकरबाट गीतको सुमधुर ट्र्याक बजाए र त्यसैको लय पक्रेर गीत गाउन थाले ।
चहलपहल बढ्दै गएपछि मनकारीहरूले उनीहरूले थापेको भाँडोमा पैसा दिन थालेका थिए, त्यसै बेला ‘काठमाडौं महानगरपालिकाको आदेशमा’ आएका प्रहरीले माइक र स्पिकर खोसे । सडकमा गीत गाएर माग्न नपाइने भन्दै झपारे र त्यहाँबाट हिँडे । महानगरले बुधबार मात्रै रत्नपार्क र सुन्धारा क्षेत्रका सडक छेउमा समूह बनाएर गीत गाउने सात दृष्टिविहीन समूहको माइक र स्पिकर खोसेको छ । गाउनेरबजाउने भाँडो नै खोसिएपछि दृष्टिविहीनको समूह ह्वाइट केनको सहारामा काठमाडौं महानगरपालिका पुग्यो । ‘सुरुमा त कहाँ जाने, कसलाई भेटेर कुरा राख्ने मेलोमेसो भएन,’ मीनबहादुरले सुनाए, ‘सोध्दैखोज्दै महानगरको समाज कल्याण विभाग पुग्यौं ।’ उनका अनुसार कर्मचारीले अबदेखि सडक छेउछाउमा गीत गाएर नमाग्न सतर्क गराए । खोसिएको माइक र स्पिकर प्रहरी परिसर टेकु पठाइएको भन्दै त्यहीँ गएर फिर्ता लैजान आदेश दिए । बल्लतल्ल टेकु पुगेपछि एक प्रहरीले गीत सुनाउनुस् अनि सामान फिर्ता गरौंला भनेर गिज्याएको मीनबहादुर सुनाउँछन् । ‘सडकमा गीत गायो भनेर उठाउने अनि सामान फिर्ता माग्दा गीत गाउनुस् भन्ने भनेपछि ती प्रहरी चुप लागे,’ उनले भने ।
दृष्टिविहीनहरूले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर आफ्नो कुरा राख्ने प्रयाससमेत गरेका थिए । तर कर्मचारीले शाक्य कार्यालयमा नभएको जनाउ दिएपछि उनीहरू समाज कल्याण विभाग छिरेका थिए । विभागका निर्देशक हरि कुँवरले कान्तिपुरसँगको कुराकानीमा सडकमा गीत गाएर माग्न नपाइने र यस्तो काम कानुनविपरीत हुने बताए । महानगरपालिकाले गत मंसिर २९ मै सडकमा बसेर गीत गाउनेहरूलाई विकल्प खोज्न र अटेर गरे पक्राउ गरिने बताइसकेको उनले सुनाए ।
कान्तिपुर दैनिकबाट