Logo

आइजीपी खनाल र्दुगम क्षेत्रको भवन उद्घाटनमा व्यस्त



रोल्पा, ९ माघ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले र्दुगम क्षेत्रमा प्रहरी भवन उद्घाटनमा व्यस्त छन् । कार्यकालको अन्तिमतिर आइपुग्दा उनले आफ्नो कार्यकालमा शुरु भएको भवन निर्माणको धमाधम उद्घाटन गरिरहेका छन् ।

झण्डै दुई वर्षे कार्यकाल बिताउन लागेका खनाल आइजीपी भएलगत्तै प्रहरीका कार्यालयका बन्न नसकेका भवन निर्माणमा सक्रियता देखाए । उनी हालसम्म बनेका आइजीपी मध्ये सबैभन्दा बढी पूर्वाधार निर्माणमा योगदान गरेका आइजीपी बन्दैछन् ।

यो हप्ता पनि आइजीपी खनाल कर्णाली जिल्ला पुगे । कालिकोटको प्रहरी कार्यालयको भवन उद्घाटन गरे । बुधबार कालिकोट पुगेर छाउपिडी भत्काउन अभियानबारे जानकारी लिए ।

बिहिबार जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गरे । उक्त भवनको शीलालेखको अनावरण गरी निरीक्षण समेत गरे ।

खनालले भवन निर्माणमा सहयोग पुर्‍याउनेहरुलाई प्रशंसापत्र समेत प्रदान गरे । उनले सामाजिक विकृति विसंगतिलाई सरोकारवाला सबै पक्ष मिलेर अन्त्य गर्नुपर्ने चर्चा गर्दै यस्ता कुरितिलाई त्याग्न सबैलाई आह्वान समेत गरे । कानून सबैका लागि समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरमा ल्याउने बताए ।

विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै खनालले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने बताए। समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय(प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै उहाँले उक्त अवधारणा अन्तर्गत विभिन्न जनचेतनमूलक कार्यक्रम संचालनको लागि नागरिक समाजसँग हातेमालो गर्दै आगाडि बढेको बताए ।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुभकामना व्यक्त गरेको कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी बरीष्ठ उपरीक्षक नर बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए । समुदाय(प्रहरी साझेदारी वडा स्तरिय समितिका संयोजक तथा रोल्पा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबराज आचार्य र संचारकर्मीको तर्फबाट काशिराम डाँगीले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्र बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरे । प्रहरी निरीक्षक ई. दिपक केसीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट कूल ४ करोड २४ लाख ३३ हजार ६ सय ८१ रुपैयाँ ९२ पैसा लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।-Photo Source: Nepal Police



प्रतिक्रिया दिनुहोस्