विराटनगर, ९ माघ । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उच्च अदालतको थुनामा राख्ने फैसला आउनुअघि भारततर्फ लागे । उनी भारततिर लाग्नुलाई थुनाबाट बच्ने उपायका रुपमा लिइएको छ ।
भारततर्फ लागेका उनी कहाँ पुगे भन्ने यकिन भएको छैन । तर, उनी पक्राउबाट बच्न भारततिर लागेको चर्चा चलेको छ । भारततर्फ नलागेको भए उनी आजै पक्राउ परी थुनामा राखिन्थे । अदालतको फैसला उनको विपक्षमा आएको थियो ।
अनुयायीमाथि ४ कात्तिकमा बलात्कारको अभियोग लागेका सिद्धबाबालाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको फैसला उच्च अदालत विराटनगरले बदर गरिदियो । बिहिबार मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरी र्पुपक्षका लागि थुनामा राख्ने फैसला गर्यो ।
सिद्धबाबाले आफूलाई एक महिलाले नियोजित रुपमा फसाउन खोजेको दाबी गर्दै आएका छन् । उनले आफू ब्रम्हचारी भएको र महिलाप्रति उच्च सम्मान गर्ने बताएका छन् । तर, बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबाले आफूमाथि कात्तिक ४ गते आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।