Logo

विदेशी लगानी सहज बनाउन ‘स्वचालित मार्ग’



काठमाडौँ, १० माघ । सरकाले आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन सहज हुने गरी ‘स्वचालित मार्ग’ को व्यवस्था गर्न लागेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत विभिन्न प्रकृतिका दुई दर्जन उद्योगमा स्वचालित मार्गको व्यवस्था गर्न लागिएको हो ।

नेपालमा विदेशी लगानी आकर्षणका लागि गर्नुपर्ने सुधारलाई निरन्तरता दिने क्रममा यस्तो व्यवस्था गर्न लागिएको हो । लगानीमैत्री वातावरण निर्माणलाई थप बलियो बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त नियमावलीको मस्यौदा बनाएको छ । मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेकोे छ । कानुनको रायसुझावपश्चात् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।
मस्यौदामा उद्योगका लागि निश्चित आकर्षक उद्योगमा विदेशी लगानीको उद्योग दर्तामा दुई तहको स्वीकृति लिनुपर्ने व्यवस्थालाई हटाएर एक चरणमा मात्र सीमित गर्न खोजिएको छ । यो व्यवस्थाले उद्योगमा लगानीका लागि पूर्वस्वीकृति लिनु पर्ने छैन । बैङ्किङ प्रणालीबाट आवश्यक रकम भित्र्याएर ३० दिनभित्र राष्ट्र बैङ्कलाई जानकारी दिए पुग्छ । अहिले स्वीकृति लिएपछि मात्र रकम भित्र्याउन पाइन्छ । स्वीकृतिका लागि उद्योग विभाग वा लगानी बोर्डको अनुमतिसहित नेपाल राष्ट्र बैङ्कमा रकम ल्याउने स्वीकृतिका लागि आवेदन गर्नुपर्ने व्यवस्था छ ।

नियमावलीमा गर्न खोजिएको नयाँ व्यवस्थाले नेपालमा लगानी भित्र्याउन चाहने लगानीकर्तामाझ यसले सकारात्मक सन्देश प्रवाह हुने र लगानीपूर्वका प्रक्रियागत जटिलता घटाउने अपेक्षा मन्त्रालयको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्थाले सम्भावित लगानीकर्तामाथि विश्वासको आधार सिर्जना गर्नेछ । अटोमेटिक रुटले सम्भावित लगानीकर्तालाई नेपाल आउन सहज वातावरण बन्नेछ, उनले भने, लगानीपूर्वका कडाइ र जटिलता घटाउँछ तर आइसकेपछि भने निगरानी कम हुँदैन ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्