काठमाडौं, १० माघ । साहित्यकार युवराज मैनाली बहुक्षेत्रमा कलम चलाउँछन् । उनका कथासंग्रह, समालोचनासंग्रह, हास्यव्यंग्यसंग्रहलगायत कृतिहरु प्रकाशित छन् । मैनालीसँग यसै साहित्य क्षेत्रबारे रिपोर्टर्स नेपालका लागि जयराम सापकोटाले गरेको कुराकानीः
यहाँको लेखनकार्य कहिलेदखि सुरु भयो ?
सुरुमा विद्यालयस्तर र जिल्लास्तरमा समेत अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थें । ती कार्यक्रममा पुरस्कृत भइरहँदा प्रथम वा दोस्रा नै हुन्थें । त्यसबाट उत्साहित भएर मेरा लेखन निरन्तर रह्यो । खासमा भन्नुपर्दा पहिलो लेखन वि.सं. २०३२ देखि सुरु भयो ।
लेखनको प्रेरणा कोबाट पाउनुभयो ?
खासमा भन्नुपर्दा त्यस्तो प्रेरणा कसैबाट पाएजस्तो लाग्दैन । काभ्रे जिल्लाको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययन गर्दा युगकवि सिद्धिचरण श्रेष्ठ शहीद दिवसको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो । मानिसहरु उहाँप्रति झुम्मिँदा मलाई पनि साहित्यकार हुन रहर लाग्यो । विक्रम सम्वत् वि.सं. २०३५ मा जागिरको क्रममा काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माविको प्राथमिक शिक्षक पदमा रहँदा त्यहाँका शिक्षक तथा कवि फणीन्द्रराज खेताला र कृष्णप्रसाद सर्वहारालाई भेट्न आउने वरिष्ठ आख्यानकार रमेश विकल प्रा.डा. कुमारबहादुर जोशीलगायतसँग भेटघाट हुन्थ्यो । ज्ञानेश्वरको डेरामा त्यतिखेर लव गाउँले, कलानिधि दाहाल, पूर्णविराम, श्यामल, धीरेन्द्र मल्ल, म र मेरो सहोदर भाइ तथा लेखक (हाल नेपाल सरकारका सचिव) गोपी मैनालीबीच साहित्यिक छलफल भइरहन्थे । सुन्ने र सुनाउने क्रम भइरहन्थ्यो । कलेजका शिक्षक घटराज भट्टराई मलाई हौस्याइरहनुहुन्थ्यो । युगकवि सिद्धिचरण श्रेष्ठसित उहाँकै निवास ओमबहालमा प्रायः भेट हुन्थ्यो । उहाँ मेरो समालोचनामा नवीनता छ भन्नुहुन्थ्यो । बालकृष्ण सम त मलाई औधी माया गर्नुहुन्थ्यो । वि.सं. २०३५ देखि नै उहाँसँग भेट भइरहन्थ्यो । वि.सं. २०३७ मा प्रकाशित मेरो पहिलो कृति मुर्दा बोल्यो कथासंग्रहमा समले भूमिका लेखेर मलाई प्रेरणा दिनुभयो । वि.सं. २०४०÷४२ तिर रेडियो नेपालको साहित्य संसार कार्यक्रममा दाहाल यज्ञनिधिले मेरा समालोचना श्रोतालाई सुनाउनुहुन्थ्यो । भवानी घिमिरेसँग पनि मेरो सान्निध्य थियो । त्यसपछि मलाई प्रशंसा र आलोचना गर्ने दुवैबाट मैले लेख्नुपर्ने रहेछ भन्ने लाग्यो । यसबाहेक मेरो पारिवारिक माहोल पनि अनुकूल थियो ।
तपाईंलाई समालोचक, आख्यानकार र व्यंग्यकारमध्ये के भनेर चिन्ने त पाठकले ?
म हरेक कृतिमा नवीनता खोज्छु । अभिव्यक्तिको माध्यम जुनसुकै विधा भए पनि परम्परागत पृथक्ता नै मेरो लेखनको उद्देश्य हो । आख्यान, व्यंग्य र समालोचना सबैतिर कलम चलाएको छु । तैपनि धरै पाठकले मलाई समालोचक नै भन्छन् । यो त पाठकको दृष्टिकोण हो । आफूलाई यो नै हुँ भन्दिनँ म ।
पुरानो लेखक भएर पनि कम चर्चामा हुनुहुन्छ, किन ?
यसको कारण म आफैं हुँ । म चर्चा खोज्दै हिँड्ने लेखक परिनँ । रचना छपाएरै दबाव दिनुपर्छ भन्ने मेरो मान्यता छ । काम गर्दै जाने हो । म लेखनमा विश्वास गर्छु– फेसनमा होइन । आफैं स्वतस्फूर्त रूपमा भएको चर्चा स्थायी हुन्छ । प्रायोजित रूपमा भएका चर्चा÷परिचर्चा र हल्लाले उभ्याइएका व्यक्ति जतिखेर पनि ढल्न सक्छन् । बनाइएकाहरु भत्किन्छन् । सबैलाई त म भन्दिनँ तर धेरैजसो लेखक सम्मान वा पुरस्कारका लागि दौडिन्छन् । त्यो तपाईं स्वयंलाई पनि थाहा हुनुपर्छ । स्तरीय रचनाको एकदिन सही मूल्याङ्कन हुन्छ भन्ने कुरामा म विश्वस्त छु । नामको लागि मात्र दौडने र स्तरीय नलेख्नेहरु मृत्युसँगै सकिन्छन् ।
प्रकाशित कृतिमध्ये कसलाई बढी दिनुहुन्छ र किन ?
आफ्ना सन्तान सबै समान भनेजस्तै म सबैलाई उत्तिकै महत्व दिन्छु । तर यसमा मेरो मात्र कुरा हुँदैन । सार्वजनिक भएपछि पाठकले कुन रूपमा हेर्छ त्यसलाई आधार मान्नुपर्छ । पहिलो प्रकाशित ‘मुर्दा बोल्यो’ कथासंग्रह सिकारु अवस्थाको र अहिलेका धेरै पाठकको हातमा पनि पुगेको छैन । ‘केही प्रतिभा केही प्रवृत्ति’ मेरो विचारमा उत्कृष्ट हो । यसभित्रका समालोचना मलाई जहिले पनि नवीन नै प्रतीत हुन्छ । त्यस्तै ‘समको पौराणिक नाट्यकौशल’ नेपाली साहित्यका महान् नाटककार बालकृष्ण समको विषयमा थोरैमा धेरै भनिएको कृति हो । ‘भ्रष्टाचारको भाङ’ व्यङ्ग्य निबन्धलाई त विज्ञ पाठकले समेत राम्रो मानेका छन्– जुन कुरा यसको निरन्तर चर्चाले पनि पुष्टि गर्छ । म थोरै लेख्ने मान्छे भएकोले कुनै पनि कृति निम्न स्तरका छन् जस्तो मलाई लाग्दैन ।
वर्तमान साहित्यिक वातावरण कस्तो छ ?
लोकतन्त्रमा साहित्यिक गतिविधि बढाउन वातावरण अनुकुल हुन्छ । यसै कारण संघसस्थाको बाढी नै आएको छ । कार्यक्रम निरन्तर रूपमै भएका छन् एकै दिनमा धेरै कार्यक्रम हुन्छन् । सुन्ने सुनाउने क्रम बढ्दैछ । पुरस्कार र सम्मान निजी स्तरबाट धेरै प्रदान भइरहेबाट साहित्यिक विकास गर्न वातावरण अनुकूल छ ।
साहित्यमा लागेर के-कति सम्मान पाउनुभयो त ?
सम्मान र पुरस्कार मैले खोज्ने होइन– मलाई चाहिँ सम्मान वा पुरस्कारले खोज्नुपर्छ भन्ने मेरो मान्यता छ । यसहिसाबमा अहिलेको साहित्यिक माहोलमा म अटाइरहेको छैनँ । लेखेको चार दशक बितिसकेछ अझै पनि मलाई आफूले गर्नुपर्नेजति गरेजस्तो लाग्दैन । गर्नुपर्ने धेरै छ, थोरै गरेको छु । यसबीचमा मैले युगान्तर पुुरस्कार, बीडी त्यागी सम्मान र हालै भैरव प्रतिभा पुरस्कार पाउने समाचार सुनेको छु ।
४० को दशकबाटै समालोचक हुनुभएको तपाईं साहित्यमा कतिको विकास भएको पाउनुहुन्छ ?
हिजोभन्दा आज र आजभन्दा भोलि केही नयाँ हुनु स्वाभाविकै हो । तर हिजो र आज कसरी तुलना गर्नु कठिन विषय छ । हिजो बन्द समाज थियो । लेखनमा सेन्सर हुन्थ्यो । आज खुल्ला वातावरण छ । त्यस्तो समयमा पनि कवि शिरोमणि लेखनाथ पौडेल, महान् नाटककार बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठजस्ता महान् तपस्वी जन्मिए । कथातर्फ गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुस्करसमशेर राणा, भवानी भिक्षु, गोविन्द गोठाले, विजय मल्लजस्ता हस्ती जन्मिए । रमेश विकल, पारिजात आदिबाट स्तरीय कृित साहित्यमा थपिए । शंकर लामिछानेले निबन्धमा क्रान्ति नै ल्याए । मोहन कोइराला, ईश्वर बल्लभ, इन्द्रबहादुर राईहरुले साहित्यमा तहल्कै मच्चाए । धेरै हिसाबमा त्यतिखेरका साहित्यिक कृति अब्बल छन् । यसो भनिरहँदा आज साहित्यिक प्रतिभा नै नभएका भने होइन । तर उनीहरुमा हतारो छ । कृति प्रलोभनले सताएको छ । अध्ययनको कमी छ । के लेखियो भन्दा पनि कति लेखियो भन्नेतिर छ । अहिलेका प्रतिभाले पनि अध्ययन बढाउँदै जाने, परिष्कार गर्दै जाने र अहिलेको प्रविधिसँग मैत्री बन्दै जाने हो भने आशा गर्ने ठाउँ भने प्रशस्त छ ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ ?
निकट भविष्यमा नै ‘पृथक् बाटो’ शीर्षकमा तन्नेरी प्रकाशनबाट मेरो लघुकथासङ्ग्रह प्रकाशन हुँदैछ । त्यसबाहेक पुराना अनि नयाँ कृति र कृतिकारका विषयमा समालोचनासङ्ग्रह लगभग तयार भइसकेको छ ।
तपाईंंको लेख्ने समय कुन हो ?
एकान्त र रातिको समय मलाई मन पर्छ । म सधैं लेख्न सक्दिनँ । आएको समयमा लेख्ने हो । करकापको लेखन स्तरीय हुँदैन ।
साहित्यमा कुन विधाका पाठक धेरै छन् जस्तो लाग्छ ?
अहिले कविता र समालोचनाका पाठक कम छन् । तुलनात्मक रूपमा आख्यान विधाका पाठक बढी देखिन्छन् । तर हल्ला गरिएजस्तो हजारौं उपन्यास विक्री भएजस्तो मलाई लाग्दैन ।
तपाईंलाई छुच्चो र एकलकाटे लेखक भनिन्छ किन ?
स्पष्ट र सत्य बोल्नेलाई छुच्चो भन्छन् भने मेरो भन्नु केही छैन । म देखेको कुरा भन्छु । तीसको दशकदेखि नै म विकृति र विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्दै आएको छु । यसरी बोल्दा र लेख्दा कसैलाई चित्त नबुझेको हुन सक्छ । उनीहरुले नै मलाई छुच्चो र एकलकाटे भनेको हुन सक्छ ।
तपाईंलाई मन परेका कृति र कृतिकारबारे केही बताइदिनुहुन्छ ?
कुनै पनि सृजना सुन्दर त हुन्छ नै । तैपनि परिपक्व लेखका उत्कृष्ट कृतिले मलाई प्रभाव पारिरहन्छ । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, लक्ष्मी निबन्धसंग्रह, गुरुप्रसाद मैनालीको नासो, भुपी शेरचनको घुम्ने मेचमाथिको अन्धो मान्छे, गोपालप्रसाद रिमालको आमाको सपना, पारिजातको शिरीषको फूल अनि कविशिरोमणि लेखनाथ पौडेल, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविताले मलाई सधैं आकृष्ट गरिरहेका छन् । यसबाहेक नयाँ पुराना कृति र कृतिकार पनि मेरो रोजाइमा आएकाले नै म समालोचना लेखिरहेको छु ।
नाम ः युवराज मैनाली
जन्ममिति ः विक्रम संवत् २०१७।१२।१० काभ्रेपलान्चोक
हाल ठेगाना ः कामनपा–४ धूमवाराही
अध्ययन ः इतिहासमा एमए र नेपालीमा बीए
प्रथम प्रकाशित रचना ः मुर्दा बोल्यो (वि.सं. २०३७)
प्रकाशित कृति ः मुर्दा बोल्यो (कथासंग्रह), भ्रष्टाचारको भाङ (वि.सं. २०६५) हास्यव्यंग्यसंग्रह, केही प्रतिभा केही प्रवृत्ति (वि.सं. २०४२), समको पौराणिक नाट्यकौशल (वि.सं. २०६९) र कर्मयोगी देवकोटा (वि.सं. २०६९) समालोचनासंग्रह
प्रकाशनोन्मुख कृति ः पृथक् बाटो