काठमाडौँ, १२ माघ । लगानी सहजताका लागि हाल कार्यान्वयनमा रहेको एकद्वार प्रणालीजस्तै भन्सार जाँचपासको प्रक्रियामा पनि त्यस्तै प्रणाली प्रयोग गरिने भएको छ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल सरकारबीच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारी अगाडि बढेको हो ।
‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ नाम दिइएको यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्नसक्ने छन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायहरूले समेत प्राप्त गर्नसक्ने छन् । फरकफरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट यो नयाँ प्रणालीले व्यापारीलाई निकै सहयोग पुग्ने विभागका महानिर्देशक सुमन दाहालले बताएका छन् । यसले व्यावसायिक लागत कम गराई आपूर्ति हुने वस्तुको मूल्य घटाउन सहयोग पु¥याउने छ, उनले बताएका छन्। दुई वर्षभित्र कार्यान्वयनमा ल्याउने योजनाअनुसार विभागले अहिले नेपाल राष्ट्रिय एकद्वार प्रणाली आयोजना कार्यान्वयन एकाइ गठन गरेको छ ।
अहिलेसम्म भन्सारसँग सम्बन्धित निकायको पहिचान र त्यस्ता संस्थासँग चरणबद्ध रूपमा छलफलको काम भइरहेको दाहालले बताए । यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि भन्सारमा एक किसिमको ‘चमत्कार’ नै हुने उनको भनाइ छ । भन्सार जाँचपास प्रक्रियालाई पूर्णतः कागजमुक्त (पेपरलेस) बनाउने योजनाअन्तर्गत यो प्रणाली कार्यान्वयनको काम भइरहेको विभागका उपमहानिर्देशक तथा यो आयोजनाका संयोजक श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुने उनले जानकारी दिएका छन् ।
गोरखापत्र दैनिकबाट