Logo

ग्यास बुलेट समस्या : भारतीय पक्षद्वारा सञ्चालनको पहल गर्न सुझाव



काठमाडौँं, १२ माघ । विगत तीन वर्षदेखि भारतमा रोकिएका नेपाली ग्यास बुलेट सञ्चालनका लागि भारत सकारात्मक देखिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । नयाँ दिल्लीमा भएको नेपाल–भारत पेट्रालियम जोइन्ट वर्किङ समूहको बैठकमा ग्यास बुलेट नेपाल ल्याउन दूतावासमार्फत पहल गर्न भारतले आग्रह गरेको छ ।

बैठकमा सहभागी आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले बताएका छन् । “विभिन्न निकायसँग समन्वय गरी दूतावासमार्फत प्रक्रिया अघि बढाउन सुझाएको छ, हामी यसलाई सकारात्मक रूपमा लिन्छौँ ।” उनका अनुसार भारतीय पक्षले बैठकमा भारतको उद्योग तथा व्यापार प्रवद्र्धन विभाग, सडक तथा यातायात मन्त्रालय, ‘पेट्रोलियम एन्ड इक्सप्लोसिभ सेफ्टी अर्गनाइजेसन’सँग समन्वय गरी दूतावासमार्फत पहल अगाडि बढाउने गरी छलफल भएको छ । समन्वयका लागि आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउने भएको छ । २०७२ असोजमा तत्कालीन सरकारले ग्यास बुलेट खरिदमा दुई तिहाइ राजस्व छुट दिएपछि नेपाली व्यवसायीले भारतबाट बुलेट खरिद गरेका थिए ।

निर्माण सम्पन्न भएका यी बुलेट भारतबाट ग्यास ढुवानी गर्ने इजाजत नपाएपछि भारतमै रोकिएका हुन् । भारतको ‘पेट्रोलियम एन्ड इक्सप्लोसिभ सेफ्टी अर्गनाइजेसन’ले ढुवानीका लागि दिनुपर्ने इजाजत नदिएपछि तीन वर्षदेखि नेपाली ग्यास बुलेट भारतमै अलपत्रमा छन् । ग्यास बुलेट नेपाल ल्याउन पराराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली राजदूतावासले पहल गर्दै अएका छन् । संसदीय समितिले पनि दुई वर्षअघि ग्यास बुलेट नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्