काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकबाट निर्वा्चित भएर बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नवनिर्वाचित सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गरे । उनले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिए ।
सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिएनन् । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनेछन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वा्चित भएका हुन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम