Logo

निकुञ्ज घुम्दै राजदूत



चितवन, माघ १३ । नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज यहाँ आउने कार्यक्रम रहेको छ ।

वाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्। प्रवद्र्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलङ्का, मलेसिया, अष्ट्रेलिया, भारत, रुस र बेलायतका राजदूतलाई यहाँ घुमाइने र पर्यटकीय गतिविधिका बारेमा अवगत गराइने जानकारी गराए ।

उनका अनुसार विशिष्ट पाहुनालाई निकुञ्जभित्र जङ्गल सफारीसँगै सौराहामा हात्तीको फुटबल, पोलोलगायत गतिविधि तथा रात्रिकालीन भोजसहितको सांस्कृतिक कार्यक्रममा सहभागी गराउन लागिएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार प्रदेश सरकारसँगै जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, सौराहाका मध्यवर्ती सामुदायिक वन तथा होटल र रेष्टुराँको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा २१ देशका राजदूत सहभागी हुने योजना भए पनि प्राविधिक कारणले सबै देशका राजदूत उपस्थित गराउन नसकिएको उनको भनाई रहेको छ ।

गत साता बेल्जियमकी राजकुमारी एष्ट्रिडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेकी थिइन्। भ्रमण वर्षमा विभिन्न देशका राजदूत र विशिष्ट पाहुनालाई भ्रमण गराउन सकेमा अन्तर्रा्ष्ट्रियस्तरमा प्रचारप्रसार हुने अपेक्षा लिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्