काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले आफ्नो पदभार सम्हालेका हुन् ।
सभामुख सापकोटाले एमसीसीबारे सोधिएको प्रश्नमा भने,‘अहिले यसबारेमा बहस भइरहेको छ, यसमा हतार गर्नु पर्दैन् । एउटा बहस छेडिएको छ । यसलाई केही हतार गर्नु पर्दैन ।’ उनले आफूले विषयवस्तु्बारे गहन अध्ययन गर्ने र अनिमात्रै प्रतिक्रिया दिने विश्वास दिलाए ।
सापकोटाले आफूविरूद्ध व्यक्ति हत्याबारे सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने टिप्पणी गरे । सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन्। सभामुख सापकोटाले भने,‘मुद्दा सर्वोच्चमा छ अहिले केही नबोलौं ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम