Logo

‘नेपाली पोर्ट’ शुभारम्भ



काठमाडौँ, १४ माघ । नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपाली पोर्ट’ सूचना प्रणाली शुभारम्भ गरिएको छ । यसबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स ‘नेपाली पोर्ट’ सूचना तथा सुरक्षा प्रणाली (सफ्टवेयर) सोमबार शुभारम्भ गरेको । यो सफलताले आधुनिक नेपाल निर्माण कार्यसँगै मुलुकलाई प्रविधिको नयाँ युगमा परिवर्तन गरेको भन्दै प्रधानमन्त्री ओलीले देशीय सीप, स्रोत, लगानी र दक्षताबाट निर्माण गरिएको अत्याधुनिक अध्यागमन सुरक्षा प्रणाली सञ्चालनबाट आफू खुसी भएको स्पष्ट पारे। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको मुख्य प्रवेशद्वार भएकाले यस स्थानबाट आगमन र प्रस्थान गर्ने स्वदेशी तथा विदेशी नागरिकको सहजता, सुरक्षा र छिटोछरितो सुविधाका लागि अध्यागमन सूचना प्रणाली बहुपयोगी हुने विश्वास व्यक्त गरे ।

“मैले भनेको थिएँ, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकतामा टल्किने र मौलिकतामा झल्किने गरी ‘बुटिक’ बनाए । उनले थपे, “अत्याधुनिक अध्यागमन सूचना प्रणालीले विमानस्थलको आधुनिकता त टल्कियो, अब मौलिकता पनि झल्किनु पर्छ ।”
राष्ट्रसेवक कर्मचारी र देशभक्त जनताको साथ सहयोग भयो भने विकास र परिवर्तन असम्भव नहुने बताउदै प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए । “दुईवर्षे अवधि र पाँच करोड खर्च लाग्छ भनेको अध्यागमन सूचना (सफ्टवेयर) प्रणाली एक वर्षभित्रै ८० लाख रुपियाँ खर्चमा निर्माण भएको खबर सुन्दा खुसी लाग्यो ।”

अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च राख्न यस्तै परिवर्तकारी कदम आवश्यक रहेको चर्चा गर्दै उनले दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग आर्थिक कूटनीतिक सम्बन्ध विस्तारसँगै ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्