Logo

महाराजको ठगी धन्दा : पुराना फकाउँदै नयाँ ठग्दै



काठमाडौं, १४ माघ । पीडितहरू सम्पर्कमा आउन थालेपछि चितवन जिल्ला प्रशासन कार्यालयले भण्डारीविरुद्ध छानबिनको तयारी गरेको छ भने मुख्य वाचक नै ठगी धन्दामा संलग्न रहेको खुलेपछि नारायणी किनारमा जारी महायज्ञमा श्रद्धालुको आगमन पातलिएको छ ।

पीडितहरू : हामीलाई चेक चाहिँदैन । एक–एक लाख अहिले दिनुस् । बाँकी चेक काट्नुस् ।
एक पीडित : मलाई त मेरो साढे चार लाख नै चाहिन्छ ।

महाराज : विस्तारै बोल्नुस् न । यो कुराले गर्दा कार्यक्रम प्रभावित भयो भने म दिन सक्दिनँ । मैले प्रस्ट भनेको छु, यहाँबाट लिएर पैसा दिन्छु ।
पीडितहरू : बरु हामी भोलिसम्म कुर्छम् । केही फरक पर्दैन ।
महाराज : भोलि नै एक–एक लाख दिन सक्दिनँ । यज्ञमा दुई लाखभन्दा एक रुपैयाँ बढी एक पैसा उठेको भए म तपाईंहरूको पिसाब पिउन तयार छु ।
पीडित : जहिले कमाउँछु दिन्छु भन्ने । पैसा खाको पनि ६ वर्ष भइसक्यो ।
महाराज : जम्मा ४ दिनको समय मागें मैले । आजको दिन गइसक्यो । म रोएर तपाईंहरूको खुट्टा ढोग्छु ।
पीडित : हामीले नसक्ने मागेको होइन । जम्मा एक–एक लाख मागेको हो ।
महाराज : म सक्दैसक्दिनँ । म मर्छु बरु । तपाईंहरूले मलाई पिट्नुस्, बरु थुक्नुस् । कुट्नुस् बरु ।
पीडित : पिटेर के हुन्छ रु रगत आउँछ ।
महाराज : म तपाईंहरूको खुट्टा ढोग्छु बरु । एक–एक ढोग्छु बरु । भोलि नै एक–एक लाख दिन सक्दिनँ ।
पीडित : मलाई ५ लाख दिने हो भने म अहिल्यै ढोग्छु बरु । दिने हो रु पैसा ढोगेर आउँछ रु
महाराज : यज्ञमा चन्दा उठेको भए पो मैले दिनु ।

वैशाख ३ देखि १३ सम्म फर्पिङको त्रिभुवन आदर्श आवासीय माध्यमिक विद्यालयमा आयोजित धान्याचल महायज्ञका क्रममा आफूलाई बालयोगेश्वर महाराज बताउने विजय भण्डारीसँग पीडितले गरेको संवादको अंश हो यो । भक्तपुर झौखेलका ५ जना पीडितलाई फर्पिङको महायज्ञमा देखेपछि ‘महाराज’ ले कोठामा बोलाएर कुराकानी गरेका थिए ।

उनीहरू बीचको कुराकानीको करिब आधा घण्टा लामो भिडियो कान्तिपुरलाई सोमबार प्राप्त भएको छ । भिडियोमा महाराज र पीडितबीच लेनदेनको विषयमा कुराकानी भएको छ । हरियो रङको भित्ता भएको कोठाको एक छेउमा पहेँलो बस्त्र लगाएर ‘महाराज’ बसेका छन् । उनका सामुन्ने पाँच पीडित बसेका देखिन्छन् । संवादमा महाराजले आफूले तिर्न बाँंकी रहेको १९ लाखको चेक काटिदिने र बाँकी पैसा महायज्ञबाट दक्षिणा लिएर तिर्छु भन्दै याचना गरेका छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot