काठमाडौं, १४ माघ । गायिका आस्था राउतको पक्षमा कलाकारहरु देखिएका छन् । कलाकारसमेत रहेकी राष्ट्रियसभाकी सांसद कोमल ओलीले आस्था राउतलाई पक्राउ गरेर प्रहरीले अधिकारको दुरुपयोग गरेको आरोप लगाइन् ।
मंगलबार राष्ट्रियसभामा बोल्दै ओलीले गालीगलौजमा नउत्रिएकी राउतलाई थुनामा राख्न नमिल्ने तर्क गरिन् । उनले राउतको तत्काल रिहाईको माग गरिन् । प्रहरीप्रति पछिल्लो समय निकै कडा रुपमा प्रस्तुत हुन थालेकी ओलीले फेरि आलोचना गरिन् । यसपटक उनी आस्थाको पक्षमा देखिइन् ।
यसैगरी, नायिका रेखा थापाले आस्था राउतलाई विहान अस्पतालमा भेटेकी छिन् । सोमबार प्रहरी हिरासतमा रहेकी राउत स्वास्थ्यको कारण देखाएर अस्पताल भर्ना भएकी थिइन् ।
आस्था राउत अभद्र व्यवहारको अभियोगमा चार दिनको प्रहरी हिरासतमा छिन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । त्रिभुवन विमानस्थलमा प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको भन्दै राउतमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई सोमबार विहान नियन्त्रणमा लिएको थियो ।-File Photo