Logo

उखु किसानको चौँतीस करोड बाँकी



काठमाडौँ, १५ माघ । नवलपरासीका चिनी उद्योगले उखु उत्पादक किसानको ३४ करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

चिनी उद्योगहरूले उखुको रकम भुक्तानी गर्ने भन्दै बारम्बार सम्झौता गर्ने तर त्यसको पालना नगर्ने गरेका कारण अहिले नवलपरासीको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिले १४ करोड, सुनवलस्थित लुम्बिनी चिनी उद्योगले नौ करोड एवं सुस्तास्थित बाग्मती खाडसारी तथा चिनी उद्योगले ११ करोड गरी तीन चिनी उद्योगहरूले किसानको जम्मा ३४ करोड रुपियाँ रकम तिर्न बाँकी रहेको नवलपरासी उखु उत्पादक किसान सङ्घका अध्यक्ष उमेश यादवले बताएका छन् ।

गत दुई वर्षदेखि यी उद्योगले ठूलो रकम तिर्न बाँकी राखेपछि प्रतापपुर गाउँपालिकाको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिको गेटमा किसानले तीन हप्तादेखि अनशन बसेका तर सम्बन्धित निकायले सुनुवाइ नगरेपछि अनशनरत किसानले अहिले चिनी उद्योगबाट निस्कने गेटबाहिरको सडक नै भत्काइदिएका छन् । आक्रोशित किसानले उद्योगको गेटबाहिर कुनै पनि सावारी साधन निस्कन नमिल्ने गरी ठूलो खाल्डो खनेर छाडेका स्थानीय लख्खु यादवले बताएका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्