धरान, माघ १५ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिकृत तेजनारायण साहले विद्युत् महसुल उठाई ठगी गरेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ।
साहले प्रतिष्ठान हाताभित्र भाडामा सञ्चालित व्यवसायीहरूबाट विद्युत् महसुल लिएकोबारे छानबिन गर्न मानसिक रोग विभागका प्राध्यापक वैकुण्ठ अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो।
छानबिन समितिको सदस्यमा हाडजोर्नी विभागका डाक्टर विष्णु पोखरेल, आर्थिक प्रशासन महाशाखा प्रमुख रमेश पण्डित र प्रतिष्ठानका कानुनी सल्लाहकार अबइन्द्र निरौला छन्। समितिले आरोपित अधिकृत साह र सम्बन्धित व्यवसायीहरूसँग पनि आवश्यक बयान लिने काम गरिरहेको छ।
छानबिन समितिले साहबाट ठगिएका व्यवसायीसँग लिखित बयान लिएको छ। त्यस क्रममा उनीहरूले आवश्यक प्रमाण पनि समितिलाई बुझाएको एक व्यवसायीले जानकारी दिए। ‘के भएको हो भनेर हामी १० जना जति व्यवसायीसँग लिखित बयान लिइयो। प्रमाण के छ, पेस गर्नु भनियो। हामीले तेजनारायणले दिएको भौचर बुझायौं,’ नाम उल्लेख नगर्न आग्रह गर्दै ती व्यवसायीले भने।
अधिकृत साहले प्रतिष्ठान हाताभित्र भाडामा पसल सञ्चालनमा गरिरहेका व्यवसायीहरूसँग सात महिनादेखि विद्युत् महसुल संकलन गरेर अनियमितता गरेको आरोप छ। अधिकृत साहले अधिकार क्षेत्रबाहिर गएर भाडामा रहेका व्यवसायीहरूसँग महसुल लिइरहेको लिखित निवेदन परेपछि छानबिन समिति गठन भएको हो।
अधिकृत साहले प्रतिष्ठानमा भाडामा रहेका व्यवसायीहरूसँग विद्युत्को बिलबापत लाखौं रुपैया संकलन गरेर अपचलन गरेको आशंका गरिएको छ। आर्थिक कारोबार गर्ने अधिकार प्रतिष्ठानको लेखा शाखालाई मात्र छ। तर साहले सर्भर बिग्रिएको मौका पारेर आफैंले व्यवसायीहरूबाट महसुल लिइरहेको खुलेको थियो।नागरिक दैनिकबाट