Logo

ओलीको चेतावनीपछि राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात योजना विफल



काङ्ग्रेस नेताहरूसँग पैसा लिएर अन्तर्घातका लागि तयार भएका ६ जना प्रदेशसभा सदस्यहरूले आफूलाई प्राप्त चेक नसाटिने भएपछि फिर्ता गरेको जानकारी प्राप्त भएको छ ।

माघ ९ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरूलाई हराएर देउवा–उपेन्द्र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन प्रचण्ड र उपेन्द्र यादवको इच्छाअनुसार नेकपाका नेताहरू मातृका यादव र प्रभु साहले विशेष ‘अन्तर्घात योजना’ तर्जुमा गरेका थिए । उपेन्द्र यादवसँगको घनिष्ट सम्बन्धमा रहनुभएका प्रचण्ड राजपासँग केपी ओलीले बनाएको गठबन्धनप्रति सकारात्मक थिए । त्यसैले मातृका यादव र प्रभु साहमार्फत प्रचण्डले बेग्लै खेल खेलको बुझिन्छ ।

मातृका र प्रभु साहले प्रचण्ड र उपेन्द्रको इच्छाअनुसार अन्तर्घातका निम्ति योजना बनाएर प्रदेश सभा सदस्य भरत साह र जगत यादवलाई ‘विशेष जिम्मेवारी’ सुम्पिएका थिए । त्यस क्रममा काङ्ग्रेसका विमलेन्द्र निधि र आनन्द ढुङ्गानासँग मातृका र प्रभुले ‘लेनदेन सम्झौता’समेत गरेको बताइएको छ । प्रदेश सभाका ६ जना सदस्यको ९४८×६.२८८० मत प्राप्त गर्न निधि र ढुङ्गानाले कुल एक करोडमा कुरा मिलाएको र, पच्चीस लाख अग्रिम भुक्तानी दिने सहमतिअनुसार ६ जना सदस्यलाई तीन–तीन लाख रुपैयाँको चेक दिइएको थियो ।

काङ्ग्रेसका उम्मेदवारहरू नगिना यादव र भोला पञ्जियारलाई मतदान गर्ने सर्तमा आनन्द ढुङ्गानामार्फत दुई नम्बर प्रदेशका ६ सदस्यलाई उपलब्ध गराइएको चेक फिर्ता गर्नुपर्ने अवस्था त्यसबेला आयो, जब प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले कडा चेतावनी दिए। अन्तर्घात हुँदै गरेको आधिकारिक सूचना प्राप्त गरेपछि केपी शर्मा ओलीले प्रचण्डलाई सम्पर्क गरी मातृका र प्रभुलाई पार्टीबाट निष्कासन गरिने चेतावनी दिएका थिए।

प्रचण्डमार्फत मातृका र प्रभुले यस्तो जानकारी पाएपछि ‘अन्तर्घात योजना’ भङ्ग हुन पुगेको थियो । प्रभु साहले त मौलापुर नगरपालिकामा नगरप्रमुख रहेकी आफ्नी पत्नीको मत ९१८० समेत विपक्षी उम्मेदवारलाई हाल्ने व्यवस्था मिलाएका थिए ।

प्रधानमन्त्री ओलीले समयमै अन्तर्घातसम्बन्धी जानकारी नपाएको भए राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरूको पराजय हुने र देउवा–उपेन्द्र पक्षका उम्मेदवारहरू विजयी बन्ने निश्चित थियो । निर्वाचनमा नेकपा–राजपा गठबन्धनको विजयपछि उक्त दुई पार्टीबीच सहकार्यको थप नयाँ ढोका खुल्ने सम्भावना बढेको छ । अब प्रदेश सरकार (दुई नम्बरको) बदलिने र राजपा केपी नेतृत्वको सरकारमा सामेल हुने विश्वास विश्लेषकहरूले गरेका छन् ।-घटना र विचार साप्ताहिकबाट File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot