Logo

नेकपाको राजनीतिक प्रतिवेदनमा अमेरिका र भारतको आलोचना, चीनको प्रशंशा



काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार गरेको राजनीतिक प्रतिवेदन प्रचण्डले प्रस्तुत गरेका छन् । प्रतिवेदनमा चीनको खुलेर प्रशंशा गरिएको छ भने भारत, अमेरिका र पश्चिमा देशहरुको आलोचना गरिएको छ ।

अमेरिकाले हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डो प्यासिफिक स्ट्राटिजी अगाडि बढाइरहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनैनितक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारका कुनै पनि सहयोगको प्रस्ताव मञ्जुरी गर्न सक्तैन ।’

राजनीतिक प्रतिवेदनमा पश्चिमा देशहरुको भूमिकाको समेत आलोचना गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन कायम रहेको मात्र होइन यसलाई नयाँ साझेदारीको धारणाबाट शक्तिशाली बनाउने अभ्यास जारी छ ।’

भारतले नेपालको सीमा मिचेको भन्दै आलोचना गरिएको छ । यसबारे नेकपाले नेपाली भूमी फिर्ता हुनुपर्ने अडान राखेको समेत उल्लेख छ । सरकारले तत्कल राजनैनिक र कुटनैतिक सम्वाद मार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भुमीबाट भारतीय सेना हटाउन नेपालको भूमी फिर्ता लिन पहल सुरु गरिसकेको भन्दै सुगौली सन्धी अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा चीनको ब्रीक एण्ड रोड इनिसियटिभको प्रशंशा गरिएको छ । प्रतिवेदनमा भनिएको छ,’आज चीनले अगाडि सारेको बीआरआईले विश्वव्यापीरुपमा आफ्नो कनेक्टिभिटी र आर्थिक सहयोगको क्षेत्र विस्तार गर्ने एउटा वृहद् साझेदारीको रणनीतिको रुपमा काम गरिरहेको छ ।’

यसैगरी, चीनका राष्ट्रपति सी जिङ फिङद्धारा भएको भमणको समेत उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, भ्रमण बखत भएका सहमति र समझदारीले आम जनतामा आशा र भरोसा जगाएको छ । यसैगरी, नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गरेको अन्तर्देशीय तेल पाइप लाइनको उद्घाटनले आपसी सहयोग अभिवृद्धिमा नयाँ आयाम थपेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot