काठमाडौँ, १६ माघ । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले उत्पादन गरेको सिमेन्टको बजारसँगै बिक्री पछिल्लो समय घट्दै गएको छ ।
सरकारी स्वामित्वको उद्योगको उत्पादनले गत आर्थिक वर्ष २०७५/७६ को पहिलो छ महिनाको अनुपातमा चालू आर्थिक वर्ष २०७६/७७ को पुस मसन्तसम्ममा बिक्रीमा ह्रास आएको हो । गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने गरेको दाबी गर्दै आएको उद्योगको उत्पादनको बिक्रीमा आएको ह्रासले उद्योग थप आर्थिक जोखिम र सङ्कटमा पर्ने देखिएको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा भएको उत्पादनको हाराहारीमा उत्पादन भए पनि बिक्रीमा कमी भएको उद्योगका प्रशासनतर्फ नायब महाप्रबन्धक गणेश कोइरालाले जानकारी दिए।
उनका अनुसार आइतबारसम्ममा छ लाख २१ हजार ३३७ बोरा सिमेन्ट बिक्री भएको छ । उनले भने, “निजी सिमेन्टहरूसँग गर्नुपर्ने अस्वस्थ प्रतिस्पर्धा, पुराना मेसिनरी उपकरणका कारण बढ्दो लागतलगायतका कारणले र अपेक्षाकृत बजार प्रवद्र्धन गर्न नसक्दा हेटौँडा सिमेन्टको बिक्री र बजार खुम्चिएको छ । ” गत आर्थिक वर्षको पहिलो छ महिनामा झन्डै १० लाख बोरा सिमेन्ट बिक्री भएकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा तीन लाख ८८ हजार ९३९ बोरा कम सिमेन्ट कम बिक्री भएको छ । गत आर्थिक वर्षमा यो अवधिमा ५४ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा चालू आर्थिक वर्षमा ५० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरेको छ । उद्योगमा हाल ४० करोड रुपियाँ मूल्य बराबरको सिमेण्ट मौज्दात रहेको जनाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल र सेवा प्रवाहमा रहेको विभेदकारी व्यवस्थाले उद्योगको उत्पादन लागत बढेको उद्योग व्यवस्थापनको दाबी छ । प्रशासनतर्फका नायब महाप्रबन्धक कोइरालाले लोडसेडिङ अन्त्य भएको बताइए पनि अझै नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडरबाट विद्युत् उद्योगले प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँदै यसले उत्पादन लागत बढाएको बताए । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगमामात्र प्राधिकरणको डेडिकेटेड फिडरको विद्युत् महसुल बुझाउनुपर्ने यो व्यवस्था लागू छ, निजी उद्योगलाई छैन नायब महाप्रबन्धक कोइरालाले भने, प्राधिकरणको अदूरदर्शी र विभेदकारी नीतिबाट हामी पीडित भएका छौँ ।
गोरखापत्र दैनिकबाट