काठमाडौं, माघ १६ । चितवन जिल्ला अदालतले कसैको आवेशपूर्ण अभिव्यक्तिलाई प्रहरीले ‘अभद्र व्यवहार’भनी मुद्दा चलाउनु गलत भएको ठहर गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले कसैले आवेशमा आएर भनेको कुरालाई ‘अभद्र व्यहार’मा राखेर मुद्दा चलाउन नमिल्ने फैसला गरेको हो।
अभद्र व्यवहारसम्बन्धी फैसला गायिका आस्था राउतसँग मिल्ने देखिएको छ। गायिका आस्थालाई ‘अभद्र व्यवहार’ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कानुनको गलत व्याख्या गरी मुद्दा दर्ता भएको ठहरिएको छ। प्रहरीले सोधपुछका नाममा गरिने अशिष्ट व्यवहारलाई प्रतिक्रियास्वरूप सफाइ दिँदा भएको आवेश अभद्र व्यवहार नहुने जिल्ला अदालतले फैसला गरेको हो।
प्रहरीले आस्थालाई मुलुकी संहिता ऐनको दफा ११८ लगाएको छ। तर त्यो दफाअनुसार राउतले कसुर गरेको देखिँदैन। त्यसमा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।’ त्यस्तो कसुर गर्नेलाई एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
प्रहरीले आस्थाविरुद्ध आफूअनुकूल मुद्दा चलाएको ठहर भएको छ। चितवन जिल्ला अदालतले प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गरेको भन्दै स्थानीय अर्जुन मल्ल ठकुरीलाई मुद्दा चलाएको थियो। अदालतले पुस २२ मा प्रहरीले कानुनको गलत व्याख्या गरी मुद्दा चलाएको ठहर गरेको हो। चितवनका अर्जुन भरतपुर–३ कमलनगरमा स्थानीय टेकबहादुर श्रीमललाई कुटपिट गरेर घाइते बनाई फरार रहेको भन्दै पक्राउ गर्न गएको थियो। त्यसैबेला ठकुरीले पक्राउ गर्नुको कारण सोध्दा प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरेको थियो।नागरिक दैनिकबाट