पर्वत, १६ माघ : सरकारले हरेक १०/१० वर्षमा गर्ने राष्ट्रिय जनगणना फेरि शुरु हुँदैछ । विसं २०७८ मा गरिने १२औँ जनगणनाको तयारी पर्वतमा पनि शुरु भएको छ । कोही नछुटुन्, कोही नदोहोरिउन् भन्ने उद्देश्यले ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ जनगणना गरिँदै छ ।
जनगणना आउन एक वर्षभन्दा बढी बाँकी छँदै यसलाई प्रभावकारी बनाउने उद्देश्यले छलफल तथा अन्तरक्रिया र प्रचारप्रसार थालिएको छ । आगामी जनगणनाको सन्दर्भमा तथ्याङ्क कार्यालय स्याङ्जा, पर्वतको आयोजनामा बुधबार कुश्माबजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनगणना कार्यलाई प्रभावकारी बनाउन र नागरिकको पूर्ण विवरण सङ्कलनमा सबैको सहभागिता जुटोस् भन्ने उद्देश्यले तयारी थालिएको जनाइएको छ ।
यस वर्ष विगतका जस्तो ‘स्याम्पल’ गणना नगरी पूर्ण गणना गरिने भएको छ । जनगणना विसं २०५८ र २०६८ भन्दा पनि विस्तृतरूपले गरिने तथ्याङ्क कार्यालयका अधिकृत शारदा शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक बहु मोडेल दृष्टिकोण अपनाइने भएको छ ।” महानगर, उपमहानगर र ठूला नगरपालिकामा ट्याबलेट र कागजी दुवै प्रश्नावलीको प्रयोग गरिने छ भने अन्यमा परम्परागत तरिकाबाटै सङ्कलन गरिने छ । विदेशस्थित कूटनीतिक नियोगमा विद्युतीय माध्यमबाट गणना गरिने भएको छ ।
अधिकृत शर्माका अनुसार जनगणनामा सबैको सहभागिता जुटाउन प्रचारप्रसारलाई तीव्रता दिइने भएको छ भने अहिले कार्यालयगत तयारीको काम भइरहेको छ । जनगणनाका लागि प्रदेश तथा जिल्ला र स्थानीय तहका कार्यालय स्थापना, गणना सामग्री ढुवानी, विभिन्न तालीम सञ्चालन, लगत सूची सङ्कलन गर्ने काम भइरहेको पनि शर्माले जानकारी दिए।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले प्रत्येक नागरिकका घरमा राज्यको अनिवार्य उपस्थिति हुने जनगणनाको कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकार र जनप्रतिनिधिको सक्रियता आवश्यक रहेको बताए । उनले पर्वत जिल्लामा जनगणनालाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए । उनले जिल्लामा तथ्याङ्क कार्यालय नभएकाले आगामी जनगणना अघि स्थायी प्रकृतिको कार्यालय स्थापना गर्न सके अन्य पटकलाई पनि सहज हुने बताए ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललगायतले जनगणनालाई प्रत्येक नागरिकको पहुँचमा पु¥याउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । कृषि ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मी र जिल्ला समन्वय अधिकारी चिरञ्जीवी सापकोटाले तथ्याङ्क सङ्कलनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधिका बारेमा सुझाव दिएका थिए ।रासस