काठमाडौं, १६ माघ । बिहिबार सार्वजनिक लेखा समितिको बैठकमा गजबको आरोप प्रत्यारोप देखियो । यती ग्रुपलाई गोकर्णको जंगल ३० वर्ष लिज थप गरेको विषयमा नेकपाभित्र दुई गुटको भिन्न धारणा समितिमा देखियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्णको जंगल यती ग्रुपलाई ३० वर्ष लिज अवधि थप गरेको विषयमा सरकारको बचाऊ गरेको भोलिपल्टै लेखा समितिमा यसबारे जवाफ माग्न नेपाल ट्रष्टका सहसचिवलाई बोलाइएको थियो । सवाल जवाफमा सहसचिवले जस्तो ऐन बनाइयो त्यसकै आधारमा लिज अवधि थप गरेको जवाफ दिए । तर, सांसदहरुले चित्त बुझाएनन् ।
नेकपाकै सांसद विरोध खतिवडाले यसमाथि प्रश्न उठाए । खतिवडा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् तर, ओली निकट सांसद प्रेम आले यस मामलामा निकै नरम रुपमा प्रस्तुत भए । त्यसपछि खतिवडाले उनको पनि आलोचना गरे ।
काँग्रेस सांसद मीनेन्द्र रिजालले पूर्व राजाको जग्गा कुनै व्यक्तिलाई धनी बनाउनका लागि नेपाल ट्रष्टका नाममा नल्याइएको भन्दै प्रश्न उठाए । काँग्रेसकै सांसदहरुले यसमा पैसाको चलखेल भएको आशंका गरे ।
छ वर्ष अवधि छँदै सरकारले गोकर्ण रिसोर्ट यती ग्रुपलाई लिजमा दिने निर्णय गरेको थियो । यसमा व्यापक अनियमितता भएको आशंका गरिएको छ ।