Logo

नोबेल मेडिकल कलेजमा २९ लाख बढी शुल्क



काठमाडौँ, १७ माघ । विराटनगरको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि सरकारले तोकेभन्दा २९ लाख १४ हजार रुपैयाँ बढी शुल्क निर्धारण गरेको छ । सरकारले तोकेको पहिलो किस्ताको रकम विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजको सम्पर्कमा पुगेका विद्यार्थी र अभिभावकसँग कलेजले बढी रकम मागेको हो ।

नोबेलले एमबीबीएसमा एक सय सिट पाएको छ । विद्यार्थीसँग २९ लाख १४ हजारका दरले शुल्क उठाउँदा उसले २९ करोड रुपैयाँभन्दा बढी अतिरिक्त कमाइ गर्छ । नोबेल कलेज प्रशासनले इन्टर्नसिप शुल्कबापत ४ लाख ४० हजार मागेको छ । ९ वटा सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले रकम मागिएको छ । विश्वविद्यालय परीक्षाबापत ९५ हजारका दरले छुट्टै शुल्क लिन खोजिएको छ । यस्तो परीक्षा चारपटक हुने गर्छ । कलेजले साढे ५ वर्षको होस्टल शुल्क पनि भर्नाअगावै माग गरेको छ । मञ्जुरीनामामा होस्टलका लागि ७ लाख ३९ हजार ६ सय ५३ रुपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ । एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन । नोबेलले होस्टल अनिवार्य गरेर ५ वर्षसम्मको शुल्क अग्रिम लिन लागेको हो । एक अभिभावकका अनुसार होस्टलमा एउटा कोठामा दुई जना विद्यार्थी राखिन्छ । खाटबाहेक पर्दा, कार्पेट विद्यार्थीले आफैं किन्नुपर्छ । पहिलो वर्षका लागि १ लाख २० हजार, दोस्रो वर्षका लागि १ लाख २६ हजार, तेस्रो, चौथो र पाँचौं वर्षका लागि होस्टल शुल्क क्रमशस् १ लाख ३१ हजार, एक लाख ३८ हजार र एक लाख ४५ हजार अहिल्यै मागिएको हो । विद्युत् महसुल विद्यार्थी आफैंले तिर्नुपर्ने सर्त कलेज प्रशासनले राखेको छ ।

नोबेलमा शिक्षा कर, विश्वविद्यालय, मेडिकल काउन्सिल दर्ता शुल्क छुट्टै तिर्नुपर्ने भनिएको छ । ‘अरू कलेजले ४ देखि ६ लाखसम्म अतिरिक्त रकम मागे भनेको सुनिएको थियो, नोबेलमा त तोकिएको भन्दा २९ लाख बढी तिर्न पहिल्यै मञ्जुर गराएर मात्र भर्ना गरिदो रहेछ,’ छोरा भर्ना गराउन विराटनगर पुगेकी एक अभिभावकले भनिन् । चिकित्सा शिक्षा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अन्य रकम लिन मिल्दैन । आयोगले तोकेको काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकेको छ । कलेजले आइतबार विद्यार्थी र अभिभावकलाई काउन्सिलिङमा बोलाएको छ । ‘चिकित्सा शिक्षा आयोगले भनेअनुसार पहिलो किस्ताको १४ लाख ७८ हजार काठमाडौं विश्वविद्यालयको खातामा जम्मा गरेपछि कलेजको सम्पर्कमा आएका थियौं,’ एक अभिभावकले भने, ‘बढी पैसा मागेपछि छोराछोरी भर्ना गर्ने कि नगर्ने भनेर अन्योलमा परेका छौं ।’

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्