काठमाडौं, १७ माघ । डा. डिम्पल झाको प्रदेश नं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री पदबाट आएको राजीनामाले स्पष्ट संकेत गरेको छ कि अब सत्ता गठबन्धनमा नयाँ माहोल सृजना हुँदैछ । प्रदेश २ मा समाजवादी पार्टीका लालबाबु राउत मुख्यमन्त्री रहनेछैनन् । राजपाले समर्थन फिर्ता लिनेवित्तिकै उनी अल्पमतमा परेर राजीनामा दिन वाध्य हुनेछन् ।
राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नु अघि नै प्रदेश २ को गठबन्धन परिवर्तनको संकेत मिलिसकेको थियो । यसमा राजेन्द्र महतोले निकै चलखेल गरे । महतो अध्यक्षमण्डलको नेता हुँदा सबै अवस्था परिवर्तन भयो । उनले शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवलाई समेत मिलाए । झाले अहिले महतोलाई निकै साथ दिइरहेका छन् । उनकै निर्देशनमा डिम्पलले मंगलबार राज्यमन्त्रीबाट राजीनामा दिएकी छिन् । उनले प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको भनिएपनि अन्तरकथा बेग्लै छ । यो सबै प्रदेश २ को सत्ता ढाल्ने खेल अन्र्तगत भएको छ । जसमा रणनीतिकार राजेन्द्र महतो बनेका छन् । यो सबै उनले ओलीको डिजाइन अनुसार गरेका छन् ।
डिम्पल झाले उपभोक्ता समितिमार्फत् गराएको कामकाजको रकम भुक्तानी नगरेको र उपभोक्ताको अत्याधिक दबाब भएको बताउँदै राजीनामा दिएको बताएकी छिन् । तर, यो घटना प्रदेश नं २ को सत्ता गठबन्धनमा परिवर्तन गर्ने गृहकार्य भइरहँदा भएको हो । डिम्पल झा राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका नेता अनिलकुमार झाकी पत्नी हुन् । राजपाभित्र समाजवादी पार्टीसँगको सत्ता गठबन्धन छाडेर नयाँ शिराबाट बढ्नुपर्ने पक्षधरमध्येका झा एक हुन् ।
राजपाले राष्ट्रियसभा चुनावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर दुई सिट सुरक्षित गरिसकेको छ । अब नेकपा र राजपाको सरकार बनाउन एउटा समूह सक्रिय भइसकेको छ । राजपालाई मुख्यमन्त्री दिएर सरकारमा सहभागी हुन नेकपा तयार देखिएको छ । यही गृहकार्य भइरहँदा डिम्पल झाको राजीनामाले निकै अर्थ राखेको छ । राजपाभित्र नेकपासँग गठबन्धन गर्ने पक्षमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव छन् । महन्थ ठाकुर र महेन्द्र राय यादव यसको विपक्षमा छन् । तर, महतो सरकारमा लान सक्रिय भएकाले राजपाभित्र पनि विवाद बढिसकेको छ । राष्ट्रिय सभा चुनावमा उम्मेदवार छनोटका क्रममा समेत यादव र ठाकुरले महतोसहितका चारजनाविरुद्ध आवाज उठाएका थिए । महतोमाथि साँढे तीन करोडमा सांसदको टिकट बेचेको आरोप छ । वृषेशचन्द्र लालले ठाडै यो आरोप लगाएको स्रोत बताउँछ ।
समाजवादी र राजपाबीचको दुरी बढ्नुमा ओलीको डिजाइन देखिन्छ । ओली कुनै हालतमा मधेशवादीलाई फुटाउन खोजिरहेका छन् । मधेशमै समाजवादी र राजपा फुटेमा त्यसपछि ती दलहरुमा पनि समस्या आउनसक्छ । राजपामा फुटको सम्भावना उत्तिकै छ । ओलीले महतोसँग राजपा सरकारमा गएमा दुईमन्त्रीको प्रस्ताव गरेको बुझिएको छ । यसबाहेक उपसभामुख पनि राजपाले पाउने सम्भावना छ । सत्ताको प्याकेजमै सालाखाला सहमति बनिसकेकाले अब त्यसले सार्थकता पाउँदैछ । उपसभामुख चुनावबाट यसले अझ प्रष्टता पाउनेछ । राजपाका चारजना नेताहरु सरकारमा जान खुट्टा उचालेर बसिरकेका छन् । सरकारमा महतो, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवमध्ये दुईजना जाने र बाँकी अध्यक्षमण्डलका नेताहरुका निकटस्थलाई राज्यमन्त्री दिएर मिलाउनेबारे समेत भित्री योजना बनिसकेको छ । फागुन लाग्नेवित्तिकै योजनाले आकार पाउने बुझिएको छ ।