Logo

नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको लागि निर्वाचन (फोटोफिचर)



काठमाडौं, १७ माघ । नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि आजदेखि काठमाडौं उपत्यका भित्रका सदस्यका लागि मतदान सुरु भएको छ । मतदान संघको केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। उक्त मतदान आज साँझ ४ बजेसम्म चल्नेछ ।

संघको निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका १६ वटा शाखा कार्यालयमा मतदान भइसकेको छ । उपत्यकाभित्र भने २१ गते मंगलबारसम्म मतदना गर्न पाइने छ। उपत्यकाभित्र करिब ७ हजार मतदाता रहेका छन्। संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्।

नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठबीच मतदान हुनेछ । उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्।

महासचिवको लागि हुने मतदान यसपटक रोचक हुने देखिन्छ। महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्।

कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जित कुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेशागत समूहका हुन्। यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा चुनावी मैदानमा छन्। सहकोषाध्यक्षमा विश्वाराज दवाडी र उदयनारायण सिंह मैदानमा छन्। दवाडी लोकातान्त्रक र सिंह समावेशी समूहका हुन्।

सदस्यहरुमा लोकतान्त्रिक समूहबाट क्रमशस् विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी रहेका छन्। समावेशी समूहबाट सदस्यहरुमा क्रमशस् दिपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफ्ले र त्रिभुवन चन्द्र झा रहेका छन्। यस्तै सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।  तस्विर : मुकुन्दक कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्