Logo

एमसिसीबारे प्रचण्ड मध्यमार्गी, आयोग बनाएर छलफल गराउने तयारी



८० प्रतिशत केन्द्रीय सदस्यहरु एमसिसीको विपक्षमा
काठमाडौंं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा एमसिसीको बारेमा पक्ष र विपक्षमा मत प्रकट भएको छ । नेकपानिकट उच्च स्रोतले दिएको जानकारी अनुसार बैठकमा ८० प्रतिशत केन्द्रीय सदस्यहरुले अमेरिकी सहयोग एमसिसीको विपक्षमा आफ्नो राय राखेका छन् ।

स्रोतले भन्यो,‘केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरुले एमसिसी संसदबाट अनुमोदन गर्न नदिने म्याण्डेट दिएका छन् । बरु, यसबारेमा पार्टीभित्र शक्तिशाली आयोग बनाई छलफल गरेर पास गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने आवाज उठेको छ । तर, अधिकांश सदस्यहरुको मत चाहीँ अहिलेकै अवस्थामा एमसिसी अघि बढाउन नहुने रहेको छ ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसिसीको बारेमा खुलेर विरोध गर्ने वा समर्थन गर्ने पक्षमा देखिएका छैनन् । बरु, उनले पार्टीमा मध्यमार्गी भूमिका खेलिरहेका छन् ।
समूहगत प्रतिवेदन प्रस्तुत

बैठकको आज तेस्रो दिन समूहगत प्रतिवेदन प्रस्तुत गर्ने क्रम शुरु भएको छ ।प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम शुरु भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार समूह २ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले प्रतिवेदन पेश गरिसक्नुभएको छ । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि छ ।

प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश नं २ का अध्यक्ष प्रभु साह, वाग्मती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथोकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा राजन भट्टराई र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंको प्रतिवेदन पेश भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot